६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरमा काेराेना संक्रमणदर घट्दै, निकाे हुन ५ जना मात्र बाँकी

उदयपुर कोभिड अस्पतालबाट निको भएकाहलाई बिदाई गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई । तस्बिरः महेश्वर

कोभिड १९ काे संक्रमण निको हुने क्रममा उदयपुरमा अब ५ जना मात्र बाँकी रहेका छन्। पछिल्लो एक महिनादेखि संक्रमण दर घट्दै गएर सातादिनयता दैनिक संक्रमण दर शून्यमा झरेको छ भने निको हुने क्रम बढेको छ।

स्वास्थ्य कार्यालय उदयपुरका अुनसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन भने अब ५ जना मात्र संक्रमित निको हुन बाँकी छ। उनीहरु सबैको होमआईसोलेसनमा उपचार भईरहेको छ। निको हुन बाँकी संक्रमितहरुमा त्रियुगा नगरपालिकाका १ महिलासहित २ जना छन् भने कटारी, बेलका र चौदण्डीगढी नगरपालिकामा १–१ जना संक्रमित छन्।  

संक्रमितहरुको उपचारका लागि जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित बेलटारमा ६० शैयाको उदयपुर कोभिड अस्पताल स्थापना गरिएको छ भने सदरमुकाम गाईघाटस्थित मदन भण्डारी स्मृति आँखा अस्पतालमा ४५ शैयाको आईसोलेसन सेन्टर स्थापना गरिएको छ। त्यस्तै अन्य नगरपालिका तथा गाउँपालिका सबैमा आईसोलेसन सेन्टर खोलिएको छ।  

बेलका, कटारी, ताप्ली, रौतामाई, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिकाका आईलेसन सेन्टर यसअघि नै संक्रमितमुक्त भईसकेका छन्। त्यस्तै आँखा अस्पतालको आईसोलेसन सेन्टर पनि एक महिनाअघि नै संक्रमितमुक्त भईसकेको भने बेलटारस्थित उदयपुर कोभिड अस्पताल पनि सातादिनअघि संक्रमितमुक्त भईसकेको छ।  

उदयपुरमा हालसम्म ३ हजार ५ सय ७ जना संक्रमितको उपचार भईसकेको छ। जस अनुसार त्रियुगामा सबैभन्दा बढी ६ सय २४ महिलासहित १ हजार ४ सय १४ जना संक्रमित निको भएर घर फर्केका छन्। त्यस्तै चौदण्डीगढी नगरपालिकामा ३२ सय ७६ महिलासहित ७ सय १३ जना संक्रमितको सफल उपचार भईसकेको छ। बेलका नगरमा २ सय ९३ महिलासहित ५ सय ७१ जना र कटारी नगरपालिकामा १ सय २९ महिलासहित ३ सय ५ निको भईसकेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

उता गाउँपालिकातर्फ लिमचुङबुङमा ६९ महिलासहित १ सय ६४, ताप्लीमा ७५ महिलासहित १ सय ७१, रौतामाईमा ३६ महिलासहित ९८ र उदयपुरगढीमा ३१ महिलासहित ७१ जना संक्रमितको उपचार भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७८ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App