७ वैशाख २०८१ शुक्रबार
समाज

जंगलमा बाघ देखिएपछि त्रासमा स्थानीय

फाइल तस्बिर

केही समयको अन्तरालमा बाघले मानिस र पशुलाई आक्रमण गरेको घटना सार्वजनिक हुन थालेपछि रौतहटको जंगल आसपासका बासीन्दामा त्रास देखिएको छ। जंगलमा घाँस दाउरा लिन जानेहरु, जंगलको बाटो भएर जानेहरु तथा जंगलको छेउछाउमा घर हुनेहरुमा त्रसित देखिएका हुन्।

देशकै यातायात मेरुदण्डकाेरूपमा रहेको पूर्व–पश्चिम राजमार्गमै बाघले आक्रमण गरेपछि स्थानीय झन् त्रसित बनेका छन्। रौतहटको जंगलमा चार ओटा वयस्क बाघ रहेको तथ्य बाहिरिनु र बाघले आक्रमण गरेको घटनामा वृद्धि हुनुले जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दामा बढी त्रास देखिएको हो।

'जंगलमा बाघ देखिएको र राजमार्गमा साइकलमा हिँडिरहेका मानिसमाथि बाघले आक्रमण गरी घाइते बनाएको घटनाले अब त पूर्व–पश्चिम राजमार्ग भएर एक्लै मोटरसाइकलमा यात्रा गर्न पनि डर लाग्न थालेको छ' चन्द्रनिगाहपुरका देवेन्द्र अर्याल बताउँछन्। उनी भन्छन् 'दैनिक हजारौँ सवारीसाधन गुड्ने बाटोमा समूहमा रहेका साइकलयात्रीमाथि बाघले आक्रमण गरेपछि अब सतर्क भएर यात्रा गर्नु परेको छ।'

चन्द्रनिगाहपुरको मुख्य बजारदेखि गैडाटार करिब पाँच किलोमिटर रहेको छ। गैडाटारको चारैतिर जंगल रहेको छ। जंगल भएर नै हजारौँ स्थानीयबासी दिन–रात ओहोरदोहोर गर्नु पर्दछ। गैडाटारजस्तै अन्य केही बस्ती पनि चारैतिर जंगलले घेरिएर रहेको छ। जंगलमा बाघको संख्या बढ्दै र बाघको आक्रमण बढ्दै जाँदा जंगलको बाटो भएर आवतजावत गर्ने गाउँका स्थानीय बासिन्दामा त्रास देखिएको छ।

जंगल छेउछाउका बासिन्दाले पशुधनको मुख्य आहार जंगलबाटै आपूर्ति हुने गरेको छ। जंगलबाट घाँस र स्याउला ल्याएर गोठमा पशुपालकहरु खुवाउँछन्। जंगल छेउछाउका बासिन्दाको पशुपालन करिब जंगलमाथि नै निर्भर रहेको अवस्थामा जंगलमा बाघ देखिन थालेपछि पशुपालक किसानमा पनि त्रास देखिएको छ। दिउँसो जंगलमा पठाइने पशुको सुरक्षामाथि शंका लाग्न थालेको गुजरा नगरपालिकाको मैढा गाउँका एक पशुपालक बताउँछन्।

स्थानीय सानोबाबु कार्की भन्छन् 'गाउँका अधिकांश बाख्रा, गाई, भैँसी र राँगा जंगलमा निर्वाध चर्न जान्थे तर अब पशुधनीलाई डर लाग्न थालेको छ।' उनी थप्छन् 'वनको सुरक्षाको दृष्टिकोणले त यो राम्रो हो तर स्थानीय किसानमा भने त्रासको वातावरण रहेको छ।' यद्यपि आफ्नो गाउँ छेउछाउमा अझै बाघ नदेखिएको उनको भनाइ छ। जिल्लाको जंगल क्षेत्रमा बाघ आएको र बाघले कतै कतै आक्रमण गरिरहेको सुनेर स्थानीय त्रसित बनेको कार्कीको भनाइ छ।

यसै गरी चन्द्रपुरका गोविन्द तिमल्सिनाले पनि जंगलमा बाघ देखिएपछि स्थानीयमा त्रासको वातावरण भएको बताएका छन्। एक्लैदुक्लै घाँस, स्याउला र दाउरा लिन जानेहरु निकै डराइरहेको बताउँदै तिमल्सिनाले जंगल क्षेत्रमा चरनको लागि पशु पठाउन पनि सर्वसाधारण डराइरहेको बताउँछन्। जंगलमा बाघको संख्या बढ्नु तथा बाघले मान्छे र पशुमाथि आक्रमण गरेको घटना बढ्नुले जंगल आसपासको क्षेत्रमा पशुपालनमा कमी आउने सम्भावना पनि रहेको तिमल्सिनाको भनाइ छ।

प्रकाशित: २२ आश्विन २०७८ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App