७ वैशाख २०८१ शुक्रबार
समाज

मेची राजमार्गको बाइपास बनाउन समस्या

इलाम बजारनजिकै धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध मेची राजमार्ग। तस्बिर: नागरिक

सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध मेची राजमार्गको बाइपास सडक बनाउन समस्या भएको छ। मेचीको लाइफलाइन मानिने राजमार्गमा करिब २० मिटर सडक नै पहिरोले झरेपछि ३ दिनयता यहाँबाट सवारी साधन आउ–जाउ ठप्प छ।

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरैचिरा परेको छ। पहिरो गएयता यहाँबाट सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

झरेको राजमार्गको माथिल्लोपट्टि रहेको अग्लो भिरमा पनि बर्खाभर पहिरो झरिरहेको छ। यो भिरमा पहिरो झरिरहेकाले त्यसमाथिको बस्तीमा जोखिम बढेको छ। यहाँबाट पनि मेची राजमार्गको बाइपास सडक बनाउन समस्या देखिएको हो। इलाम नगरपालिकाले राजमार्गभन्दा माथिपट्टिको भित्ताबाट बाइपास सडक बनाउने सुझाव दिएपनि अझ पहिरो झरेर बस्ती नै जोखिममा पर्ने सम्भावना देखिएको डिभिजन सडक कार्यालयले जनाएको छ।  

राजमार्ग अवरुद्ध बनेपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउ–जाउ गर्ने सवारीका साधन जिरो किलोमिटरबाट इलाम बजार हुँदै धोबिधारा आउ–जाउ गराइँदैछ। तर, यो मार्गको नारायणस्थान खण्ड पनि मेची राजमार्गमा पहिरो झरेकै स्थानको माथिल्लो भाग भएकाले ठूला सवारी चल्दा यो सडक पनि धस्सिएर जाने जोखिम छ। इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार साहले अहिले इलाम बजार भएर सवारी साधन आउ–जाउ गराउँदा ट्राफिक जामको समस्या भइरहेको बताए। ‘इलाम बजारमा सडक साँघुरो भएकाले मेची राजमार्गको विकल्पमा प्रयोग गर्दा निकै समस्या भइरहेको छ,’ उनले भने, ‘मेची राजमार्गको पहिरो झरेकै नजिकबाट बाइपास सडक बनाउनु नै उत्तम विकल्प हो।’  

तर, सडक डिभिजन प्रमुख अविमनदास मुल्मीले पहिरो झरेको स्थानमा बाइपास सडक बनाउनु निकै जोखिमपूर्ण देखिएको बताए। ‘माथिल्लो भागमा पहिरो झरिरहेकाले त्यहींबाट बाइपास सडक बनाउन अझ जोखिम देखिएको छ,’ उनले भने, ‘भोलि (मंगलबार) जिल्लाका सरोकारवालासँग बसेर वैकल्पिक सडकबारे निष्कर्षमा पुग्नेछौं।’ पहिरो झरेको मेची राजमार्ग मर्मतका लागि चाहिँ डिभिजनले विभागमा प्रक्रिया अघि बढाएको र बढीमा २०/२५ दिनमा काम सुरु हुने उनले जनाए।  

प्रकाशित: १८ आश्विन २०७८ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App