८ वैशाख २०८१ शनिबार
समाज

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।  

२०७७ वैशाख २२ मा पक्राउ परेका कोइरालामाथि विस्फोटक पदार्थ, एनसेल टावर आक्रमणलगायतका मुद्दा छन्। अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनी कारागारमा रहेको र धरौटी बुझाएपछि शुक्रबार रिहा गरिएको जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए। ‘कोइरालालाई धरौटीमा रिहा गरिएको हो, मुद्दा चाहिँ विचाराधीन नै छ,’ भट्टराईले भने।

तर, रिहा भएलगत्तै प्रहरीले उनलाई अदालतको गेटबाट पक्रेको हो। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले कोइरालाविरुद्ध संखुवासभा अदालतमा हातहतियार तथा खरखजाना मुद्दा रहेको बताए। ‘कोइरालालाई पक्राउ गरिएको होइन, प्रहरी नियन्त्रणमै रहेको मान्छेलाई संखुवासभा पठाउन लागिएको हो,’ उनले भने, ‘यो कामलाई पक्राउ भनिँदैन, उनीविरुद्ध मुद्दा रहेकाले संखुवासभामा उपस्थित गराउन लागिएको हो।’

नेकपाको युवा संगठनका जिल्ला संयोजक मदन गजमेरले यसअघि सरकारसँग भएको ३ बुँदे सहमतिविपरीत कोइरालालाई पुनः पक्राउ गरिएको बताए। ‘रिहा भएको व्यक्तिलाई अदालतबाटै पक्रिनु ३ बुँदे सहमतिविपरीत छ,’ उनले भने, ‘कोइरालालाई निसर्त रिहा गर्नुपर्छ।’  

 गत फागुन २१ मा तत्कालीन केपी शर्मा ओली सरकार र विप्लवबीच ३ बुँदे सहमति भएको थियो। सहमतिको ३ नम्बर बुँदामा ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ’ उल्लेख छ।  

प्रकाशित: १५ आश्विन २०७८ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App