६ वैशाख २०८१ बिहीबार
समाज

गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ  

हिमालपारीका जिल्ला समेत कोरोनाको मृत्युको तथ्यांकबाट भने अछुतो रहन सकेन् । मनाङ र मुस्ताङमा गत भदौ २७ गतेपछि नयाँ संक्रमित थपिएका छैनन् । कोभिड १९ बाट गण्डकीका ११ जिल्ला प्रभावित भए । हिमालपारीको जिल्लामा बाह्य सर्वसाधारणको आवागमनमा लगाइएको रोकले संक्रमित संख्या शून्यमा झरेको हो । गत बैशाखमा दोस्रो पटक लगाइएको लकडाउनसँगै भारी वर्षाले यातायात सेवा अवरुद्ध भएपछि सर्वसाधारण हिमालीको जिल्ला पुग्न कठिनाई बन्यो । यद्यपी मुस्ताङमा प्रवेशमा भने स्थानीय प्रशासनले पिसिआर परीक्षण गरेर मात्रै छिर्न दिदैं आएको थियो । पिसिआर परीक्षण नगराएका आन्तरिक पर्यटकलाई प्रवेशमा रोक लगाईएको थियो ।  

कास्कीमा मात्रै दैनिक जसो संक्रमितको संख्या थपिदैं गएका छन् । गण्डकी प्रदेशमा देखिने कुल संख्यामध्ये आधा कास्कीमै संक्रमित छन् । बिहीबारको तथ्यांकलाई हेर्दा गण्डकी प्रदेशमा ८८ जना संक्रमति हुँदा ४३ जना कास्कीकै रहेका छन् । कास्कीको तथ्यांकलाई केलाउँदा ३५ हजार २०७ जना संक्रमित भएका छन् । निको भएको संख्या ३३ हजार ८७० रहेको तथ्यांक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले देखाएको छ । मृत्यु संख्या भने ५९० जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । ७४७ जना सक्रिय संक्रमित छन् ।  

गण्डकी प्रदेशमा ८५ हजार ६५९ जना कोरोना संक्रमित भएको तथ्यांक छ । ८३ हजार ३० जनाले कोरोना जितेका छन् । कोरोना विरुद्धको संघर्षबाट  १३ सय ६२ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा अझैपनि १२ सय ६७ जना सक्रिय संक्रमित रहेको तथ्यांक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेको छ ।  

कास्कीपछि सबैभन्दा बढी प्रभावित जिल्ला बाग्लुङ देखिएको छ । बाग्लुङमा ७ हजार ६३८ जना सर्वसाधारण संक्रमित भएको तथ्यांक छ । ७ हजार ५ सय १३ जना  निको भईसकेकाछन् । मृत्यु भने ८६ जनाको छ । कास्कीपछि सबैभन्दा पछि कोरोनाबाट मृत्यु हुनेको संख्या स्याङजामा छ । ७ हजार १७२ जना संक्रमति मध्ये ६ हजार ८ सय ५३ जना निको भईसकेका छन् । १५१ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट स्याङजामा १६८ जनाले ज्यान गुमाएका छन् । नवलपुरमा १४१ जनाले ज्यान गुमाएको तथ्यांक छ । तनहुँमा १४० जनाले ज्यान गुमाएका छन् । पर्वतमा ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । म्याग्दीमा ५५, गोरखामा ५० जना, लमजुङमा ३९, मुस्ताङमा १६ जना र मनाङमा २ जनाको मृत्यु भएको तथ्यांक छ । 

प्रकाशित: १५ आश्विन २०७८ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App