८ वैशाख २०८१ शनिबार
समाज

साविक ठोक्शीला गाविसका पाँच सचिवलाई भ्रष्टाचार मुद्दा

तत्कालीन रामपुर ठोक्सिला गाविसका ५ सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। वर्षौंअघि मृत्यु भईसकेका व्यक्तिको नाममा दोहोरो विवरण पेश गरी उनीहरुको नाममा आएको सामाजिक सुरक्षा भत्तावापतको रकम गरेको आरोपमा सचिवहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले साविक गाविसका तत्कालीन सचिवहरु केशवप्रसाद आचार्य, माधवप्रसाद खतिवडा, लोकेन्द्र कार्की, विशाल सुन्दास र पुष्पराज सिग्देलविरुद्ध सामाजिक सुरक्षा भत्ता अपचलनको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ। उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगको आधिकारिक वेबसाईटमा जारी बिज्ञप्तीमा उल्लेख छ। अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदावी गरेको उल्लेख छ। 

८/१० वर्षअघि मृत्यु भईसकेका व्यक्तिको नाममा मृत्यु दर्ता गरी लगत कट्टा गर्नुपर्नेमा त्यसो नगरी उनीहरुको नाममा आएको सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको आरोप अख्तियारले सचिवहरुमाथि लगाएको छ। अख्तियारका अनुसार आर्थिकवर्ष ०६३/६४ देखि ०७१/७२ सम्म गाविसमा आएको सामाजिक सुरक्षाभत्तावापतको रकम भ्रष्टाचार भएको उजुरी अख्तियारमा यसअघि नै परे अनुसार अनुसन्धान गर्दा मुद्धा चलाउनुपर्ने अवस्था आएको जाी विज्ञप्तीमा उल्लेख छ।

बृद्धबृद्धाको मृत्यु भईसके पनि मृत्युदर्ता अद्यावधिक नगरी उनीहरुको नाममा आएको सामाजिक सुरक्षाभत्ता निकासा गरेर दुरुपयोग गरेको उजुरी परे अनुसार अनुसन्धान गर्ने क्रममा विशेष अदालतमा मुद्दा दायर गर्नु परेको अख्तियारको भनाई छ। ‘वर्षाैंअघि मृत्यु भईसकेका व्यक्तिको नाममा आउने सामाजिक सुरक्षाभत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो नगरी मृतक लाभग्राहीको नामको १६ लाख ४० हजार ५ सय रुपैँया रकम हिनामिना गरेको पाइएकाले’ मागदावीमा उल्लेख छ।

आर्थिक वर्ष २०६३/०६४ सालदेखि २०७१/०७२ सालसम्ममा ८/१० वर्षअघि मृत्यु भईसकेका व्यक्तिको नाममा आएको सामाजिक सुरक्षाभत्ता बनावटी नाममा निकासा गरी अनियमितता गरेको देखिएको छ। अख्तियारले तत्कालीन गाविस सचिव नासु आचार्यसँग ९ लाख ९० हजार ५ सय अनियमितता गरेको भन्दै कारबाही दावी गरेको छ। त्यस्तै तत्कालीन नासु खतिवडासँग ३ लाख १४ हजार र तत्कालीन शाखा अधिकृत सिग्देलसँग १ लाख ७६ हजार रुपैयाँ जरिवाना सजायको मागदाबी गरेको अख्तियारले तत्कालनि खरिदार सुन्दाससँग ८२ हजार र खरिदा कार्कीसँग ७८ हजार अपचलनको माग दावी गरेको छ।

नासु आचार्य हाल मालपोत कार्यालय गाईघाटमा कार्यरत छन् भने खतिवडा रौतामाई गाउँपालिकामा अधिकृत छैठौंस्तरमा कार्यरत छन्। त्यस्तै खरिदा सुन्दास तथ्यांक कार्यालयमा र खरिदा कार्की रौतामाई गाउँपालिका ७ मा वडा सविच छन्। सिग्देल भने ३ वर्षअघि नै सेवानिबृत्त भईसकेका छन्। अख्तियारले उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App