६ वैशाख २०८१ बिहीबार
समाज

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन

सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानविन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।

समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र सदस्य सचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ।

नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा विभिन्न समस्या देखापरेका सन्दर्भमा जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति बनाइएको हो। तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको छ।

समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने सम्पूर्ण वायुयानको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी सबै वायुयानको सम्परीक्षण गर्नेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेका बारेमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनकोसमेत पुनरावलोकन गर्ने जिम्मेवारी समितिलाई छ। त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएका बारेमा पनि समितिले परीक्षण गर्नेछ।

प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ। नेपालको हवाई सेवालाई भरपर्दो र विश्वसनीय बनाई आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व हुन्छ। नेपालमा सञ्चालित हवाइजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिने गरेको छ। यही सोमबार काठमाडौँबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनःकाठमाडौँ फर्काएर सामान्य अवस्थामा अवतरण गराइएको थियो।

प्रकाशित: १३ आश्विन २०७८ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App