७ वैशाख २०८१ शुक्रबार
समाज

प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनवर्षी र विराटनगरबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन्।  

विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एउटै परिवारका दाजुभाइ मंगलबारसाँझ पक्राउ परेका छन्। सुनसरीको धरान–६ का २४ वर्षीय शौरभ आचार्य र उनकै भाइ शौगात आचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

पक्राउ परेकाहरुको साथबाट १० ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। इलाका प्रहरी कार्यालय रानीले दाजुभाइविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।  

त्यस्तै विराटनगर–१५ बाट लागुऔषधसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २३ वर्षीय अल्फन लिम्बू पक्राउ परेका छन्। भारतको जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेका लिम्बूका साथबाट ४ एम्पुल लुपिजेसिक, ७ एम्पुल डाइजाल्याब, ९ एम्पुल एभिल र ६ एम्पुल फेनारगन बरामद भएको हो। लिम्बूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

त्यसैगरी, सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चोकबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटरमा सवार रतुवामाई नगरपालिका–९ का २१ वर्षीय गोविन्द थापा र स्कुटर चालक उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय अनिल राय पक्राउ परेका हुन्।  

पक्राउ परेकामध्ये थापाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ४ सय पिस फेला परेको एसपी राईले बताए। उनका अनुसार प्रतिबन्धित औषधि फेला परेपछि थापा र रायलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छ।

प्रकाशित: १३ आश्विन २०७८ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App