coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रियुगा र चौदण्डीगढीमा सार्वजनिक बिदा

थारु समुदायको महान् चाड जितीया पर्वको अवसरमा उदयपुरका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन्। थारु समुदायको बाहुल्यता रहेको जिल्लाका त्रियुगा र चौदण्डीगढी नगरपािलकाले जितीयाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन्।

सदरमुकामको त्रियुगा नगरपालिकाले बुधबार र बिहीबार दुईदिन सार्वजनिक बिदा दिएको छ भने चौदण्डीगढी नगरपालिकाले बुधबार एकदिन बिदा दिएको छ। बिदाको बेला अत्यावश्यकबाहेक कार्यालयका सबै कामकाज रोकिएको छ। थारु समुदायको महत्वपूर्ण चाड भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हुनाले अत्यावश्यक बाहेकका सामान्य कामहरु कार्यालयले नगर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।  

त्रियुगा र चौदण्डीगढीले यसअघि पनि जितीयाको अवसरमा बिदा दिँदै आएका छन्। किराती समुदायको साकेला उभौली, उधौली, तामाङ गुरुङको ल्होसार, मगरको माघीलगायत सबै जाति समुदायको चाड पर्वमा पनि यी नगरपालिकाहरुले सार्वजनिक बिदा दिदै आएका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम विभिन्न जातजाति समुदायको चाड पर्वमा बिदा दिदै आएको उनीहरुले जनाएका छन्।  

यता थारु समुदायले अघिल्लो दिनदेखि नै टोलटोलमा छिमेकी मिलेर कुण्ड (पोखरी) खडा गरी जितीया पर्व मनाईरहेका छन्। उदयपुरका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका तराईभेगमा बाक्लो बसोबास गर्ने थारु समुदायका लागि जितीया महत्वपूर्ण पर्व भएको थारु कल्याणकारिणी सभाले जनाएको छ। खासगरी विवाहित महिलाहरुको चाड मानिने यो पर्वमा बालबालिकादेखि युवायवुती हुँदै वृद्धवृद्धा सबैका लागि आकर्षक र महत्वको हुने गरेको छ।  

यसैबीच जितीयाको अवसर पारेर सदरमुकाम गाईघाटमा जितीया महोतसव आयोजना गरिएको छ। थारु कल्याणकारिणी सभा उदयपुरको आयोजनामा ३ दिनसम्म चल्ने सांस्कृतिक तथा सांगीतिक महोत्सव हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा सञ्चालन हुने सभाका अध्यक्ष शिवकान्त चौधरीले बताएका छन्।  

उनका अनुसार बुधबारदेखि सुरु महोत्सवमा चर्चित गायक गायिकाहरु अनु चौधरी, नरेश जोगी, अनुजा चौधरी, आरसी चौधरी, रेन चौधरी, विजय चौधरीलगायतको प्रस्तुति रहनेछ। त्यस्तै चर्चित रंगकर्मी कलाकार तथा निर्देशक प्रदिपकुमार चौधरीले पनि विशेष प्रस्तुति दिनेछन्। थारु पहिचान र परिकारसहितको महोत्सव त्रियुगा नगरपालिकाको सहयोग र विभिन्न संघसंस्थाको प्रायोजनमा आयोजना गरिएको सभाले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App