रौतहट प्रहरीले विस्फोटक पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा एक युवककाे साथबाट रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको विस्फोटक पदार्थ बरामद गरेको हो।
पूर्व–पश्चिम लोकमार्गको चन्द्रपुर ४ स्थित सडकखन्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले सबारी साधन रोकेर चेकजाँच गर्ने क्रममा ग १ ख ६३४१ नम्बरको यात्रुबाहक बसबाट मंगलवार ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरीले करिब एक लाख ६२ हजार ४८४ रुपैया मूल्य बराबरको विस्फोटक पदार्थ पटाकासहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका ४ का २५ वर्षीय संजित साहलाई नियन्त्रणमा लिएको हो।
साहलाई रौतहट जिल्ला अदालत गौरमा पेस गरिएको छ। विस्फोटक पदार्थ पटाका शीर्षक मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गराई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी गराएकाे छ।
प्रकाशित: १३ आश्विन २०७८ ०४:११ बुधबार