६ कार्तिक २०७८ शनिबार
समाज

जितिया पर्व मनाइँदै

जितिया पर्व मनाउँदै मिथिलाञ्चलका महिला। तस्बिरःनागरिक

मधेसी र थारु समुदायका महिलाले जितिया पर्व सुरु भएको छ। तीन दिनसम्म मनाउने सो पर्व मंगलबारदेखि सुरु भएको हो। ब्रतालु महिलाहरु मंगलबार बिहान चार बजेदेखि निराहार एवं निर्जला ब्रत बसी बुधबार साँझ ब्रत सम्पन्न गर्नेछन्। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

ब्रतालु महिला मंगलबार बिहान चार बजे ओंगठन (दही चिउरा सक्खर, केरा सहितको प्रसाद) खाएर बुधबार साँझ पाँच बजेसम्मका लागि उपवास बसेका छन्। उपवास बसेका महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ।

मैथिली भाषाका प्राध्यापक उमेश कुमार झाका अनुसार भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए। उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए। तिनै भगवानले पुत्रको रक्षा गरून भनी नेपालको मिथिला क्षेत्र र उत्तर एवं पूर्व भारतमा जितिया श्रद्दा पूर्वक मनाइन्छ। यो पर्वमा आमाले पुत्रको आरोग्य र संमृद्धिको लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ। पुत्रहीन आमाहरूले पुत्र प्राप्तिको लागि पूजा गर्दछन्। यो पर्वमा ब्रतालु महिलाहरु ३६ घण्टासम्म निर्जल र निराहार ब्रत बस्ने भएकाले यसलाई कठोर ब्रतको रूपमा हेर्ने गरिन्छ ।’

मधेसी र थारु समुदायमा ब्रत बस्नु अघिल्लो दिन महिलाहरू माइती पुग्ने गर्छन्। सबै दिदीबहिनी एक ठाउँमा जम्मा भई सुखदुख साट्दै यो पर्व मनाउने चलन छ। ब्रत बस्ने दिन बिहान खोला, नदी, तलाउमा नुहाउने चलन रहेको छ। दिनभरी पानी समेत नखाई नाचगान गर्दै मनाइने यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्व पनि हो।

बेलुका सुर्य अस्ताउनु पूर्व खोला, तलाउ, पोखरीमा गएर पूजा गर्ने र नुहाउने चलन रहेको छ । बेलुका जितमहानको कथा सुन्नलाई आवश्यक पूजाको सामग्री केरा, चियुरा, दही, चिनी लगायतको परिकारसहित गाउँको एक ठाउँ भेला भई जितमहानको कथा सुन्ने गरिन्छ।  

ब्रतको दोस्रो दिन बिहानै उठेर दाइभाइको संख्याको आधारमा बेलको पात गाँसेर धनुष बनाउने, जाकुर(मासको परिकार), पूजाको सामानसहित खोलामा नुहाउने चलन छ। खोलामा नुहाएर पूजा गरी ब्रतालु महिला घर पुगेर भान्सामा गाईको गोबरले लिपेर परिकारहरु दही, चिउरा, केरा, चिनी, दूध खाने चलन छ। ब्रतालु महिलाले खाई सकेपश्चात घरको परिवारले परिकारहरु खाने चलन छ।

प्रकाशित: १२ आश्विन २०७८ २०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App