४ वैशाख २०८१ मंगलबार
समाज

व्यवसायीलाई खुकुरी प्रहार गर्ने २ जना पक्राउ

आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालतको गेट अगाडि एक जना व्यवसायीलाई खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। लामालाई खुकुरी प्रहार गरेको आरोपमा विराटनगर–११ का २७ वर्षीय विमल कार्की र धनपालथान गाउँपालिका–१ का ५३ वर्षीय महमद साजिद मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–९ का ३० वर्षीय कलामसिंह लामालाई दुई जनाको समूहले अदालतको गेट बाहिर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट लामाको दाहिने हातमा चोट लागेको छ। घाइते लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार व्यवसायिक विवादका कारण लामालाई कार्की र मियाँले खुकुरी प्रहार गरेको हो। ‘तीन जनाबीच व्यवसायिक विषयलाई लिएर विवाद भएपछि दुई जना मिलेर लामालाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटना भए लगत्तै कार्कीलाई पक्राउ गरे पनि मियाँ भने फरार भएका थिए। उनको खोजी कार्य तीव्र पारेपछि मियाँ पनि पक्राउ परेका हुन्।’ खुकुरी प्रहार गरेपछि भाग्दै गर्दा कोसी अस्पताल नजिकबाट कार्की पक्राउ परेका थिए भने मियाँ फरार भए।

घटना भएको दिन आइतबार बिहानमात्रै लामा विराटनगर आएका थिए। मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले २ वर्ष अघिदेखि लगानी गर्दै आएका थिए। अदालत नजिककै रहेको एक लफर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुग्नसाथ आक्रमण भएको थियो। साजिद र उनकी श्रीमतीको ५०÷५० प्रतिशत शेयर रहेको इँटा उद्योगको ५० प्रतिशत शेयर लामालाई बेचेको खुलेको छ। बराबरी शेयर रहेको उद्योग ५ वर्षका लागि साजिदले लामालाई लिज (भाडा)मा दिएको र त्यस वापत वार्षिक ५० हजार थान इँटा दिने शर्त गरिएको थियो।

लामाको नाममा रहेको शेयर हड्प्ने र निकाल्नका लागि मियाँले विभिन्न खेल खेलिरहेका पाइएको छ। इँटा उद्योगको कामले विराटनगर आएका बेला व्यावसायिक विवादलाई लिएर आक्रमण भएको देखिएको प्रहरीले जनाएको छ। कार्कीलाई ०७३ सालमा प्रहरीले केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको थियो। पक्राउ परेका कार्की र मियाँलाई ज्यान मार्ने उद्योग कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १२ आश्विन २०७८ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App