७ वैशाख २०८१ शुक्रबार
समाज

स्विस राजदूतद्वारा सिँचाइ आयोजना अनुगमन

इलामको सूर्याेदय नगरपालिकाका कृषिउपजबारे स्विस राजदूत एलिजाबेथ बोन क्यापलरलाई जानकारी दिँदै मेयर रणबहादुर राई। तस्बिर: नागरिक

स्विस राजदूत एलिजाबेथ बोन क्यापलरले सूर्याेदय नगरपालिकामा सञ्चालित सिँचाइ आयोजनाको अनुगमन गरेकी छिन्। उनले स्विस सरकारको सहयोगमा नगरमा सञ्चालित समग्र आयोजनाको जानकारी लिँदै प्रगति राम्रो रहेको प्रतिक्रिया दिइन्।  

राजदूत क्यापलरले सूर्याेदय नपा–१० को रामेखोला सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरिन्। त्यसअघि उनले नगरका मेयर रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललगायतसँग आयोजनाको गतिविधिबारे जानकारी लिएकी थिइन्। राजदूत क्यापलरले स्विस सरकारसँगको साझेदारीमा नगरमा सञ्चालित परियोजनामा सन्तुष्ट रहेको प्रतिक्रिया दिएको मेयर राईले जनाए।  

सन् २०१९ देखि २४ सम्म सञ्चालन हुने साना सिँचाइ कार्यक्रमअन्तर्गत सूर्याेदयमा ३ आयोजना सम्पन्न भएका छन्। आयोजनाको फिक्कल क्लस्टरका संयोजक केशव लामाले कतिपय आयोजना क्रमागत रहेको जानकारी दिए। नगरमा यो कार्यक्रमअन्तर्गत स्विस सरकारले १ सय ७५ हेक्टर सिँचाइका लागि ७ करोड ८० लाख रुपैयाँ सहयोग गरेको छ। ती आयोजनाबाट ९ सय २४ घरका उपभोक्ता लाभान्वित हुने लामाले बताए।

मेयर राईले नगरमा स्विस सरकारसँगको साझेदारीमा अरू पनि महत्वपूर्ण परियोजना चलिरहेको र सुरु हुनेक्रममा रहेकोसमेत जानकारी दिए। स्विर सरकारले प्रोभिन्सियल सपोर्ट प्रोग्रामअन्तर्गत सूर्याेदयलाई ‘सेन्टर अफ् एक्सिलेन्सी’को रूपमा राखेर ‘बिल्डिङ कोड’को कार्यक्रम सञ्चालन गर्दैछ। यसै वर्ष सुरु हुने फोहोरमैला व्यवस्थापन परियोजनाका लागि सूर्याेदयलाई ‘रोलमोडल’का रूपमा छनौट गरिएको मेयर राईले बताए।  

‘चियाबारी पदमार्गसम्बन्धी पर्यटन विकास परियोजना सञ्चालन गर्न स्विस सरकारबाटै बजेट व्यवस्थापन भएको जानकारी आएको छ,’ मेयर राईले भने, ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको पहिलो चरणमा यो नगरपालिका छानिएको छ।’ नगरमा स्विस सरकारकै सहयोगमा सामी परियोजना सञ्चालनमा छ।  

नगरले स्विर सरकारसँग चियाको अर्गानिक प्रमाणीकरण र बजारीकरणका लागिसमेत कार्यक्रम प्रस्ताव गरेको छ। ‘नगरलाई प्रविधिमैत्री बनाउन प्राविधिक र यान्त्रिक सहयोगको कुरा भएको छ,’ मेयर राईले भने, ‘किसानले उत्पादन गरेको कृषिउपजको मूल्य र बजार किसानले घरै बसीबसी थाहा पाउने मार्केटिङ इन्टेलिजेन्स सफ्टवेयर विकास कार्यक्रमका लागि पनि स्विस सरकारसँग प्रस्ताव राखेका छौं।’ यी प्रस्तावमा पनि राजदूत क्यापलर सकारात्मक पाएको उनले जनाए।  

सूर्याेदय नगरमा लगानी गर्न हरेक वर्ष विभिन्न देशका राजदूतले चासो गरिरहेका छन्। यसअघि चीन, भारत, संयुक्त अरब इमिरेट्स, कतारलगायत देशका राजदूत पनि सूर्याेदय आएका थिए। ‘सूर्याेदयले गरिरहेका कामको सकारात्मक परिणाम सुनेर विभिन्न देशका राजदूत हामीसम्म आउने गर्नुभएको छ,’ मेयर राईले भने, ‘कतिपय देशका राजदूत कामको सिलसिला र व्यक्तिगत सम्पर्कका आधारमा पनि यहाँ आउने गर्नुभएको छ।’  

सूर्याेदयमै क्लस्टर कार्यालय राखेर स्विस सरकारले इलामका ८ र पाँचथरका ६ स्थानीय तहमा साना सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ। स्विस सरकारको साझेदारीमा इलामको देउमाई नगरमा ९ करोड ३९ लाख, इलाम नगरमा ७ करोड ५७ लाख, माई नगरमा १ करोड ९० लाख, माइजोगमाई गाउँपालिकामा २ करोड ४३ लाख, माङ्सेबुङमा ३ करोड ९९ लाख, रोङमा २ करोड १५ लाख र सन्दकपुरमा ७ करोड ३४ लाख रुपैयाँको साना सिँचाइ आयोजना सञ्चालन भइरहेको क्लस्टर संयोजक लामाले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०७८ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App