१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै खुलेनन् नाकाः पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द

गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे। 

सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो। उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे। नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के।

सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन्। सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ। दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन्।

पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ। जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ। तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ।

प्रदेश १ को प्रमुख नाका विराटनगरमात्र नभई प्रदेश २ को प्रमुख नाका वीरगन्जको अवस्था पनि उस्तै छ। बन्द नाका नखुल्दा सवारीसाधन लिएर वारपार गर्न रोक छ। ०७६ चैत ११ गतेदेखि बन्द भएको विराटनगरस्थित रानी नाका ०७८ साउन २७ गतेदेखि खुकुलो पारिएको छ। 

पैदल यात्रीका लागि नाका खुकुलो पारिए पनि सवारी आवागमनमा रोक यथावत छ। नाकाका ढाट दुवैतर्फ बन्द रहे पनि पैदल यात्रुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आउजाउ गर्न दिइएको छ।

पैदल यात्रुलाई आउजाउ गर्न दिएपछि भारतीय बजार जोगबनीमा दैनिक उपभोग्य सामान किन्न जानेहरू हौसिएका छन्। नजिकिँदै गरेको बडादसैंका लागि किनमेल गर्न जानेको अहिलेदेखि नै जोगवनी बजारमा भिड देख्न सकिन्छ।

कोरोना महामारीका कारण उराठलाग्दो बनेको जोगबनी बजारमा फेरि चहपहल देखिएको छ। यस बजारमा किनमेल गर्न विराटनगर, इटहरी, धरानमात्र नभई सप्तरी र सिरहासम्मका उपभोक्ता पुग्छन्।

दैनिक उपभोग्य वस्तुहरू चिनी, खाने तेल, मरमसला, लत्ताकपडालगायतका सामग्री किन्न नेपाली उपभोक्ता जोगबनी पुग्ने गरेका छन्। जोगबनी बजारमा नेपाली रूपैयाँ चल्ने र वारिको तुलनामा सामान सस्तो पाइने विराटनगरका कपिलदेव शर्मा बताउँछन्।

मुख्य नाका बन्द हुँदा चोरबाटोबाट तस्करी फस्टाएको थियो। स्वास्थ्य मापदण्ड पालना नगरी आउजाउ बढेपछि यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले मुख्य नाका खुकुलो पारिदिएको थियो। पैदल यात्रुका लागि मुख्य नाका खुकुलो बनाइएपछि स्वास्थ्य मापदण्ड पालना गरी मानिसहरू आउजाउ गर्न थालेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरदकुमार पोखरेलले बताए।

‘चाडपर्व नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड बढेको छ,’ उनले भने, ‘भिड व्यवस्थापनका लागि स्वास्थ्य मापदण्डमा अझ कडाइ गर्दैछौं।’ मुख्य नाका बन्द हुँदा विराटनगरका दरैयाबस्ती, इस्लामपुर, मटेरुवालगायतको नाका तस्करीका लागि उर्वर बनेका थिए। दैनिक उपभोग्य वस्तु किनमेल गर्न जाने उपभोक्तासमेत यिनै बाटो प्रयोग गर्दा संक्रमणको खतरा बढ्दो थियो।

यता प्रदेश २ को प्रमुख नाका वीरगन्ज भएर आवागमन पुनः सुचारु हुने अपेक्षा थियो। तर यस नाकाबाट पनि पैदलबाहेक आवागमन अझै सुचारु हुन सकेको छैन। यहाँको अर्थतन्त्रलाई उकास्न सीमा नाकामा आउजाउ सहज बनाउनुको विकल्प नरहेको यहाँका व्यवसायीको भनाइ छ। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले गृह मन्त्रालयको पत्रको बेहोरा भन्सारलाई जानकारी गाराइसकेको बताए। 

भन्सार विभागले अब भारतीय सवारीलाई अस्थायी प्रवेशको प्रक्रिया सुरु गरेपछि भारतीय सवारीसाधन आगमन सुरु हुने उनले बताए। वीरगन्ज भन्सार कार्यालयले विभागको निर्देशन पर्खेको जनाएको छ।

प्रदेश २ कै सर्लाही जिल्लासँग जोडिएको सीमानकाबाट आउजाउ गर्न स्थानीय प्रशासनले मापदण्ड तोकेको छ। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार मलंगवा गोरखकाली, पर्सा गाउँपालिकाको संग्रामपुर र पर्सा, ब्रम्हमपुरी गाउँपालिकाको त्रिभुवननगर, मलंगवा नगरपालिकाको भाँडसर, विष्णु गाउँपालिकाको बाराउद्योरण, फेन्हारा, बलरा नगरपालिकाको बलरा नाका आउजाउका लागि सर्तसहित खुला गरिएको छ।

नेपाल प्रवेश गर्दा कुनै व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र प्रवेश अनुमति दिने प्रजिअ महतोले बताए। 

भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्नु ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट (आरटिपिसिआर) नेगेटिभ भएको, विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने अनलाईन फारम भरी सोको प्रिन्टप्रति साथमा लिई आएमा प्रवेश अनुमति दिने व्यवस्था गरिएको उनले बताए।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलका अनुसार सरकारले सर्तसहित नाका खुलाउने पत्र पठाएको छ। सीमानाका भएर वारपार गर्दा ७२ घण्टाभित्रको आरटिपिसिआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउनै पर्ने प्रावधान सरकारले तोकिदिएको उनले बताए। ‘नाका खुला भए पनि आउजाउ गर्न भने सजिलो छैन’, उनले भने, ‘धेरै सर्तहरू छन् जसलाई पूरा नगरेसम्म वारपार गर्न पाइँदैन।’

प्रशासनले औपचारिक रूपमा नाका नखोले पनि सीमा क्षेत्रमा भिडभाड देखिन थालेको छ। सामान्य किनमेलदेखि कामका लागि सर्वसाधारण ओहोरदोहोर गर्न थालेका छन्। ‘नाका खुलेपछि बल्ल व्यवसायीलाई राहत पुग्ने आशा लागेको छ,’ जोगबनीका व्यपारी पिन्टुले भने, ‘यसअघि नै स्वास्थ्य मापदण्ड पूरा गरेर नाका खोल्नुपर्नेमा ढिलै भए पनि खुल्यो।’  

स्वास्थ्य मापदण्डमा दुवैतिरका प्रशासनले कडाइ अपनाएर आउजाउ अझ सहज बनाउनुपर्ने उनले बताए। ‘नाकामा लगाइएको रोकले धेरै मानिसको जीवन अस्तव्यस्त बनेको छ। व्यापार, नाता–सम्बन्ध, संस्कार सबै रोकिन पुगेको छ’, उनले भने।

प्रकाशित: १२ आश्विन २०७८ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App