coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हस्तान्तरण नहुँदै भत्कियो पार्क

नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित हनुमान मन्दिर नजिकै निर्माण गरिएको पार्क हस्तान्तरण नहुँदै भत्किएको छ। वडा कार्यालयको आर्थिक सहयोगमा हनुमान मन्दिर पार्क निर्माण समितिले निर्माण गरेको उक्त पार्क भत्किएको हो।

निर्माण गरेको पार्कको पश्चिमतर्फको पर्खाल पूर्णरुपमा भत्किएको छ। सर्वसाधारणहरुले गुणस्तरहीन काम हुँदा पर्खाल एक बर्खामै भत्किएको बताएका छन्। वडा कार्यालयको १२ लाख ७५ हजार रूपैयाँ सहयोगमा हनुमान मन्दिर पार्क निर्माण समितिले उक्त पार्क निर्माण गरेको थियो। पार्क निर्माण गत पुस १ गते सम्झौता भइ वैशाख मसान्तमा सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ। उपभोक्ता समितिले नाफा कमाउन प्राविधिक कम राखेको र मिस्त्रीका भरमा पूरै काम चलाइरहेका हुन्छन्,’ एक स्थानीय भन्छन्, ‘उनीहरूमा प्राविधिक ज्ञान हुँदैन। यसले पार्कको पर्खाल भत्किएको हो।’

डिजाइनअनुसार काम नहुँदा पनि समस्या हुने गरेको उनी बताउँछन्। ‘निर्माण गरी सञ्चालनपछि पनि त्यसको नियमित हेरचार गर्नुपर्छ,’ उनी भन्छन् ‘बनाइदिएपछि वास्तै नगर्ने हाम्रो प्रवृत्ति छ। त्यसले पनि क्षति भएका छन्।’ ‘पार्क बनाउँदा वरिपरिको भूबनोटको सर्भेक्षण कार्य त्रुटिपूर्ण हुनु र त्यसका आधारमा डिजाइन भएर निर्माण हुनुले पर्खाल भत्कियो,’ उनी भन्छन्।

यता वडा कार्यालयले भने भत्किएको उक्त पर्खाल उपभोक्ता समितिले पुनः निर्माण गर्ने बताएको छ। पार्क निर्माण गरेको ठाउँमा पहिला नगरपालिकाले माटो राखेको थियो। त्यही माटोमा वडाले त्रुटिपूर्णरुपमा पार्क निर्माण गरेको थियो। वडाले उपभोक्ता समितिको दोष नभइ माटो फाल्दा नगरपालिकाकै दोष भएको जनाएको छ। ‘नगरपालिकाले माटो फाल्नु गलत थियो,’ कार्यवहाक वडाध्यक्ष दिग्विजय ढुङ्गानाले भने, ‘त्यसमा पनि पार्क निर्माण भएपछि सडक डिभिजन कार्यालयले नाला कोट्याउँदा समस्या भयो।’

सडकले नालातिर नकोट्याएको भए नभत्किने भन्दै उनी भन्छन्, ‘यहाँ वडाको कुनै कमजोरी छैन।’ जमिनको लेबल ५/७ मिटर तल भएको र पार्कको पर्खाल माटोमाथि नै भएको हुँदा भत्किएको उनी बताउँछन्। पर्खाल भत्किएको छ भने अन्य भाग पनि चर्किएको छ।

प्रकाशित: १० आश्विन २०७८ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App