७ वैशाख २०८१ शुक्रबार
समाज

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण गरेको मापदण्डमा वायुमण्डलमा पिएम २.५ को स्तर प्रतिघनमिटर वायुमा वार्षिक सरदर १० माइक्रोग्राम हुनुपर्ने उल्लेख थियो। 

संशोधित मापदण्डमा यसलाई ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएकोे छ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा त्यसभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा मापन गरिन्छ।

नयाँ मापदण्डले वायु प्रदूषणका कारक तत्वको स्तरलाई घटाएर जनस्वास्थ्यको सुरक्षामा सहयोग पुग्ने दाबी डब्लुएचओको छ। वायु प्रदूषणका लागि जिम्मेवार केही कारक तत्वमध्ये जलवायु परिवर्तनसमेत भएको डब्लुएचओको तर्क छ।

सन् २००५ मा मापदण्ड तय गरिएपछिका वर्षमा भएका विभिन्न अध्ययनले वायु प्रदूषणले मानव स्वास्थ्यका विभिन्न पक्षलाई अत्यधिक प्रभावित पार्ने देखिएकाले अधिकांश मानकलाई घटाउनु परेको डब्लुएचओले स्पष्ट पारेको छ। 

वायु प्रदूषणका लागि प्रमुख रूपमा जिम्मेवार मानिएका ६ कारक तत्वअन्र्तगत पिएम २.५, पिएम १०, ओजोन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड र कार्बन मनोअक्साइडसँग सम्बन्धित मानकलाई घटाइएको हो।

नयाँ मापदण्डको विश्वव्यापी कार्यान्वयनले लाखौं मानिसको जीवन रक्षा हुने तर्क डब्लुएचओको छ। मानिसको रौंको व्यासभन्दा कैयन गुना साना आकारको तथा वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्साससम्बन्धी अन्य रोग निम्ताउन सक्ने मानिन्छ।

पछिल्ला अध्ययनले वायु प्रदूषणले मस्तिष्कघात, फोक्सोमा क्यान्सर, सरदर उमेर घटाउने र कोभिड–१९ बाट हुने मृत्युदरसमेत बढाएको देखाएका छन्। वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष झन्डै ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने लाखौंको स्वस्थ हिसाबले बाँच्ने उमेरमा ह्रास आएको अध्ययनले देखाएका छन्।  

विशेषगरी हावामा रहेका विषाक्त कणले बालबालिकाको फोक्सोको आकार र कार्यलाई प्रभावित पार्ने तथा श्वासप्रश्वास प्रणालीमा संक्रमण तथा दमरोग बढाउने देखिएको छ।

यसैगरी घरबाहिरको प्रदूषण (आउटडोर पोलुसन) का कारण प्रौढमा हृदयरोग, हृदयाघात, चिनीरोग र मस्तिष्क कोषमा क्षय हुने पाइएको छ। डब्लुएचओले विश्वमा अस्वस्थ खाना तथा चुरोट सेवनका कारण सिर्जना हुनेजत्तिकै रोगभार वायु प्रदूषणजन्य रोगको रहने गरेको बताएको छ।

विश्वभरिका नेता संयुक्त राष्ट्रसंघको ७६औं महासभामा न्युयोर्कमा भेला भइरहेको बेला सार्वजनिक यो मापदण्डले जनस्वास्थ्य, वायुको गुणस्तर कायम गर्न तथा जलवायु संकटलाई सम्बोधन गर्ने विश्वास गरिएको छ। ‘यो अत्यन्त सकारात्मक निर्णय हो,’ पाटन क्याम्पस वातावरण विभाग प्रमुख डा. शीला मास्के वैद्यले भनिन्। उनले वायुमा रहेका विषाक्त कणले विश्वका जहाँकहीं रहेका मानिसलाई झन्डै समान असर पार्ने भएकाले नेपालले पनि आफ्नो मापदण्डमा तत्काल समीक्षा गर्न आवश्यक रहेको बताइन्।

नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ। डब्लुएचओले पिएम २.५ को संशोधित मापदण्ड ५ माइक्रोग्राम प्रतिघनमिटर तोकेको हिसाबले नेपालको राष्ट्रिय मापदण्ड ८ गुनाले बढी छ। 

यसैगरी, पिएम १० को हकमा नेपालको मापदण्डले प्रतिघनमिटर वायुमा १२० माइक्रोग्रामसम्मका सूक्ष्म कणलाई गुणस्तरीय वायु भनेर तोकेको छ। डब्लुएचओको पिएम १० कोे नयाँ वार्षिक औसत मापदण्ड १५ माइक्रोग्राम प्रतिघनमिटर रहेको हिसाबमा नेपालको विद्यमान यो मापदण्ड ८ गुनाले बढी हुन आउँछ।

डब्लुएचओका अन्य निर्देशिकाजस्तै यो निर्देशिका पालना कानुनतः बाध्यकारी छैन। तर संशोधित मापदण्ड नतिजा र विज्ञानमा आधारित भएकाले मानव स्वास्थ्यका लागि यसको अनुशरण आवश्यक छ। वायु प्रदूषणसँग सम्बन्धित ५०० भन्दा बढी अध्ययनको समीक्षा गरेर डब्लुएचओले यो मापदण्ड सार्वजनिक गरेको हो।

‘डब्लुएचओको नयाँ मापदण्डले हामीलाई झन् बढी सतर्क हुन र प्रदूषण नियन्त्रणका लागि थप गम्भीर बन्न प्रेरित गर्छ,’ वायु प्रदूषण विषयमा अध्ययन गरेकी डा. वैद्यले भनिन्। उनले प्रदूषण नियन्त्रणमा सरकारी स्तरमा केही प्रयास भए पनि कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको बताइन्। 

त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान स्नातकोत्तर तहको पाठ्यक्रममा प्रदूषणसम्बन्धी विषय अत्यन्त न्यून हिसाबमा समेटिएको बताउँदै वैद्यले भनिन्, ‘वायु प्रदूषणको विषयमा केही पाठ्यसामग्री राखिए पनि यो कम छ। यसमा विस्तार आवश्यक छ।’

वायु प्रदूषण स्वास्थ्य विज्ञ तथा नेपाल खुला विश्वविद्यालयअन्तर्गत वातावरणीय तथा पेसागत स्वास्थ्य कार्यक्रमका संयोजक डा. यादवप्रसाद जोशी काठमाडौं उपत्यकामा प्रदूषणका कारण पछिल्ला वर्षमा दम, उच्च रक्तचाप, मुटु रोग, ब्रोंकाइटिसलगायतका रोगीको संख्या बढेको बताउँछन्। 

उनका अनुसार सन् २०१८ देखि २०२० सम्मको तथ्यांक समीक्षा गरेर हालै वातावरण विभागलाई बुझाइएको अध्ययन रिपोर्टले प्रदूषणका कारण उपत्यकामा यस्ता रोगीको संख्या बढेको देखाएको छ।

‘डब्लुएचओले सार्वजनिक गरेको नयाँ मापदण्ड कार्यान्वयन गर्न कठिन होला तर विश्वकै सबैभन्दा बढी प्रदूषण हुने राष्ट्रको सूचीमा रहेका नेपालजस्ता देश यसप्रति गम्भीर हुनैपर्छ,’ जोशीले भने, ‘मानव स्वास्थ्यमा वायु प्रदूषणको गम्भीर असरका हिसाबले पनि तत्काल हाम्रा मापदण्डलाई घटाउन आवश्यक छ।’ 

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका उपनिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशी डब्लुएचओले तोकेको नयाँ मापदण्डअनुसार आफ्नो मापदण्ड घटाउन नेपाललाई दबाव सिर्जना भएको स्वीकार गर्छन्। ‘तत्काल मापदण्डमा पुनरवलोकन नहोला तर हामीले बनाएको प्रदूषण नियन्त्रणसम्बन्धी कार्ययोजना तथा नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिएको छ,’ उनले भने।

नेपालको सांविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था छ। १५औं पञ्च वर्षीय योजनाले प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्धन लक्ष्य लिएको छ। राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारीसाधनको प्रयोगलगायतमा जोड दिएको छ। 

वातावरण संरक्षण ऐन, २०७६ मा कसैले पनि मापदण्डविपरीत प्रदूषण गर्न नपाउने व्यवस्था छ। काठमाण्डौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा प्रदूषण नियन्त्रणका लागि विभिन्न योजना प्रस्ताव गरिए पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ ।

वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको थियो। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वर्षमा झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको थियो ।

प्रकाशित: ८ आश्विन २०७८ ००:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App