बिलमा लेखिएको भन्दा फरक भारतीय प्रजातिका माछा समेत भेटिएको भन्दै ताप्लेजुङस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्गाले करिब ६ सय ३० किलो माछा जफत गरी नष्ट गरेको छ।
बिलमा पाङ्गास प्रजातिको लेखिएको तर माछाका काटनमा अर्कै प्रजातिका भारतीय माछा भेटेपछि जफत गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्गा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका पशु प्राविधिक योगेन श्रेष्ठका अनुसार बिलमा उल्लेख भएको भन्दा विपरीतका भारतीय प्रजातिका माछा समेत भेटिएकोले विवरण नमिलेका आधारमा नष्ट गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्गा गुल्मपति पाठकका अनुसार जफत गरिएको माछा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ। सशस्त्र प्रहरीले जफत गरिएको माछा खाल्डोमा खन्याई फिनेल, पेट्रोल, गोबर, नुन र फोहोरजन्य सामग्री समेत लगाएर पुरेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार माछा ढुवानीका लागि सम्बन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको हुनु अनिवार्य छ। यो सहित जुन जिल्लादेखि माछा ढुवानीका लागि उठाइएको हो, त्यो जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि अनुमति प्रदान भएको कागज हुनुपर्छ।
विदेशबाट माछा आयात भएको भए क्वारेन्टाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालले फुङ्लिङस्थित चेकपोस्टमा चेकजाँचका क्रममा बिलमा लेखिएको विवरण भन्दा फरक अन्य प्रजातिका प्रतिबन्धित भारतीय माछा भेटिएकोले जफत गरी नष्ट गरिएको जनाएको हो। सशस्त्र प्रहरीले गत भदौ २३ गते कागजातबिहीन २ सय ५० किलो माछा समेत जफत गरी नष्ट गरेको थियो।
प्रकाशित: २३ मंसिर २०८२ १४:३४ मंगलबार





