coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रियानालाई आर्थिक सहयोग

तस्बिर: घरको छतबाट खसेर मेरुदण्ड भाँचिएकी वीरेन्द्रनगर–१० मुस्लिम टोलकी रियाना बानुलाई ओछ्यानमै पुगेर नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी छवी रिजाल। नगेन्द्र/नागरिक

घरको छतबाट खसेर मेरुदण्ड भाँचिएकी वीरेन्द्रनगर–१० मुस्लिम बस्तीकी रियाना बानुको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। अघिल्लो वर्ष जेठ १६ गते कपडा सुकाउन जाँदा १७ वर्षीया बानु छतबाट खसेकी थिइन्। त्यसयता उनको तल्लो शरिर चल्दैन्। बानुलाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेपाली विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विवेक आचार्यलगायतले १८ हजार सहयोग गरेका हुन्।

रियानाको अवस्थाका बारेमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि विद्यार्थी नेता आचार्यले १० हजार रुपैयाँ सहयोग गरेका थिए। यस्तै प्रमुख जिल्ला अधिकारी रिजालले घरमै नागरिकता पुर्‍याउन जाँदा उनको अवस्था देखेर पाँच हजार रुपैयाँ सहयोग गरेका थिए। नागरिककर्मी नगेन्द्र उपाध्यायले पनि रियानालाई तीन हजार रुपैयाँ सहयोग गरे।

मेरुदण्ड भाँचिएकाले रियानाको तल्लो शरिर चल्दैन्। दिसा–पिसाव गर्नका लागि पनि सहारा चाहिन्छ। परिवारले उपचारका लागि लाखौं खर्च गर्‍यो। अहिले पनि नियमित थेरापी र औषधि सेवन गर्नुपर्छ। अघिल्लो वर्ष एसईई परीक्षा उत्तीर्ण गरेकी बानु माथिल्लो कक्षा अध्ययन गर्न पाएकी छैनन्। घरको आर्थिक अवस्था कमजोर छ। ‘घरको छतमा कपडा सुकाउन गएको बेला अघिल्लो वर्षको जेठ १६ बेहोस् भएर खसेछु,’ बानुले भनिन्, ‘त्यसयता ओछ्यानमै थलिएकी छु।’  

वीरेन्द्रनगर–१० को मुस्लिम बस्तीमा हवी बक्सको दुई कोठे घर छ। घरको एउटा कोठाको ओछ्यानमा रियाना थलिएकी छन्। आर्थिक अभावका कारण औषधि सेवन गर्न र थेरापी गर्न पनि सकस भइरहेको छ। छोरीको उपचारकै लागि हवीलाई सात लाख रुपैयाँ ऋण लागेको छ। हवीले अटो रिक्सा चलाएर औषधि र थेरापीको खर्च जुटाउँदै आएका थिए। 

अघिल्लो महिना त्यही अटो रिक्सा दुर्घटना भयो। अटोमा बसेका दुई जना गम्भीर घाइते भए। भारतको लखनउ पुगेर उपचार गरेको तीन लाख ३५ हजार रुपैयाँको बिल आइपुगेको छ। ‘छोरीका लागि दैनिक औषधि र साप्ताहिक थेरापीको जोहो गर्न धौ–धौ भइरहेको छ,’ हवीले भने, ‘यस्तो अवस्थामा अटो दुर्घटनाका घाइतेको उपचारमा लागेको खर्चको बोझ थपिएको छ।’

रियाना दुर्घटनामा पर्नुअघिनै उनकी आमाले अर्को विवाह गरिन्। बुवाले अर्को विवाह गरे। रियाना अहिले बाजे–बज्यैसँग आश्रित छिन्। अन्न उब्जाउनका लागि जमिन छैन्। अटो रिक्सा दुर्घटनामा परेपछि हवी झोलामा कपडा बोकेर गाउँगाउँ विक्री गर्न हिँड्छन्।  

यो अवस्था देखेपछि प्रजिअ रिजालसहित आचार्यले १५ हजार रुपैयाँ सहयोग गरे। ‘आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएको, समयमै औषधि र थेरापी गर्न नपाएको अवस्था देखेँ,’ प्रजिअ रिजालले भने, ‘उपचारमा थोरै भएपनि सहयोग पुग्ने सोचेर पाँच हजार रुपैयाँ सहयोग गरे।’ उनले रियानालाई सबैको सहयोगको खाँचो रहेको बताए।

नागरिकता पाएपछि भने केही सहज हुने उनले बताए। ‘सिडिओसाप घरमै आएर नागरिकता दिनुभयो, अव अपाङ्तगा परिचयपत्र बनाएपछि औषधिमा लाग्ने केही खर्च जुट्ला,’ उनले भने, ‘अपाङ्गता परिचयपत्रले औषधि गर्दा पनि केही छुट हुन्छ भन्ने सुनेको छु।’ उनले आर्थिक अभावकै कारण छोरीलाई कक्षा ११ मा भर्ना गर्न नसकेको बताए। ‘छोरी स्कुल जान सक्दिनन्, अनलाइन कक्षाका लागि इन्टरनेट, मोवाइल र कितावकपी आवश्यक पर्छ,’ उनले भने, ‘औषधि गर्न सकिरहेका छैनौं, यस्तोमा कहाँबाट नेट र मोवाइल किन्न सक्नु।’

प्रकाशित: ७ आश्विन २०७८ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App