coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफैँ असुरक्षित सुरक्षाकर्मी

उद्युमगन्ज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि निर्माण गरिएको बिओपी ।नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी । तस्बिरः गणेश/नागरिक

प्रहरीले प्रतिबन्धित लागूऔषध चरेस ओसारपासारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ परेपछि गत भदौ ४ गते बाँकेस्थित राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो। पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए। उनीहरुको ज्यादती त्यतिमै रोकिएन, ‘प्रदेश सांसदलाई पनि घेराबन्दी गरे।’ यो घटना सीमा क्षेत्रमा नयाँ र नौलो भने होइन। यस्ता घटना सीमा क्षेत्रमा दोहोरिरहन्छन्।

डुडुवा गाउँपालिका–६, उद्युमगन्ज नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ। उक्त बिओपी दिनमा दुईजनाको भरमा चलेको छ भने सीमा क्षेत्र एउटा लाठीको भरमा। उक्त बिओपीका खटिएका प्रहरीसँग सीमा सुरक्षाका लागि अन्य प्रविधि छैन। बेलाबेलामा सीमा क्षेत्रमा हुने तनाव मात्र होइन भारतीय तस्करबाट हुने जोखिमलाई उक्त लाठीले भरथेक गर्न सक्ला? यही प्रश्न सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मनमनमा छ। तर उनीहरु सांगठनिक ह्वीपका कारण उक्त कुरा व्यक्त गर्न सक्दैनन्। सीमा सुरक्षाका लागि पहरेदार भएका सशस्त्र प्रहरी आफैँ असुरक्षित छन्। पूर्वाधार, जनशक्ति अभाव, सीमा क्षेत्रमा बिओपी स्थापना हुन नक्नु, प्रविधिलगायतले सीमा क्षेत्रमा सीमा रक्षक सशस्त्र प्रहरी असुरक्षित भएका छन्।

सीमा क्षेत्रमा पूर्वाधार अभाव भएको भन्दै सशस्त्र प्रहरीका एपी अशाेक बमले भने, ‘सुरक्षाकर्मी सधैं असुरक्षित हुन्छन्। हामी असुरक्षाका बाबजुद पनि सुरक्षा गर्ने हो।’ सीमालाई प्रविधिमैत्री र पूर्वाधार निर्माण गरेको भए सुरक्षाका लागि सहज हुने उनको भनाइ छ। सीमा क्षेत्रमा जनशक्ति अभावमा बिओपी कम हुँदा पनि सुरक्षा चुनौती भएको उनले बताए। बाँकेसँग सीमा जोडिएको क्षेत्रमा भारतले २४ वटा बिओपी निर्माण गरेको छ। 

यता नेपालले भने १० वटा मात्र बिओपी निर्माण गरेको छ। एक बिओपीबाट अर्काे बिओपी टाढाटाढा भएकाले पनि एकबाट अर्काेलाई सहयोग गर्न कठिन हुने सशस्त्र प्रहरीको भनाइ छ। ‘बिओपी टाढाटाढा छन्,’ उनले भने, ‘एउटा बिओपी असुरक्षित भए अर्काेले सहयोग गर्न जाने कठिन छ।’ निश्चित स्रोतसाधनका बीच आफूहरुले सीमा सुरक्षामा खटिएको उनले जनाए।

‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा सुरक्षामा सहज हुने उनको भनाइ छ। तस्करले बाँकेका भित्री नाका प्रयोग गर्ने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन्। त्यस्ता ठूला तस्करलाई सशस्त्र प्रहरीले रोक्दा वा प्रक्राउ गर्दा तस्कर जतिबेला पनि जाइलाग्ने अवस्था भएको सर्वसाधारणहरु बताउँछन्। नेपाल–भारत सीमा नाकाले पनि दुर्गमका सुरक्षाकर्मीलाई असुरक्षित बनाएको भन्दै उनी भन्छन्, ‘सरकारले सीमा सुरक्षाकर्मीलाई प्रविधियुक्त बनाउन जरुरी छ।’

तस्करले आक्रमण गरेका बेलाबेलाका समाचारले दुर्गम र कठिन भौगोलिक स्थानमा सीमा सुरक्षाको जिम्मेवारीसहित राखिएका सुरक्षाकर्मीलाई त्रसित बनाउने अर्का सशस्त्र प्रहरीको भनाइ छ। सशस्त्र प्रहरीको उचित बन्दोबस्ती र संरचना निर्माणमा ध्यान नदिँदा सीमामा खटिएका सुरक्षाकर्मी असुरक्षित भएको उनको भनाइ छ। सीमा क्षेत्रलाई व्यवस्थित गरे जोखिम कम हुने एसपी बमको भनाइ छ। खुला सीमालाई कुन–कुन नाका खुला राख्ने र बन्द गर्ने त्यो निर्णय गरेर लागू गर्दा सजिलो हुने उनले बताए। 

दिनमा दुईजना लाठीको भरमा भए पनि रातिमा पाँच/सातजना हतियारसहित हुने सशस्त्र प्रहरीले जनाएको छ। एउटा बिओपी असुरक्षित हुनासाथ त्यहाँ तत्काल पुग्ने सशस्त्र तैनाथ भएको बताइएको छ। स्थानीयको सहयोगमा असुरक्षित हुँदाहुँदै आफ्नो जिम्मेवारी बहन गरिरहेको डिएसपी बमले जनाए। यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले सीमा क्षेत्रमा प्रहरीसँग भएका झडपका खबर नआएको बताए। ‘हामीले भारतीय सुरक्षाकर्मीसँग मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले अवस्था त्यति त्रसित छैन।’

प्रकाशित: ५ आश्विन २०७८ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App