५ वैशाख २०८१ बुधबार
समाज

शिवाई पुल पुनर्निर्माण कि मर्मत भन्ने टुंगो अझै भएन

सकिनै लागेका बेला बाढीले भत्काएको शिवाईस्थित त्रियुगा पुल । तस्बिरः महेश्वर

१२ वर्षअघि निर्माण सुरु भएर सकिनै लागेको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीको पक्की पुललाई गत असार २० गतेको बाढीले भत्कायो। निर्माण व्यवसायीको लापरबाही र बजेट अभावलागयत कारण ढिला भएको पुल असारभित्र सक्नेगरी युद्धस्तरमा निर्माण भईरहेकै बेला बाढीले एउटा पिल्लर भाँचेपछि दुईपटिका स्ल्याब भत्कन पुगे।  

वर्सेनी बाढीको चपेटा सहन बाध्य स्थानीयवासीलाई चोट पुग्नेगरी भत्केको पुल छिटै मर्मत गर्न जनप्रतिनिधिदेखि नागरिक अगुवासम्म तातिए। उनीहरुसँगै पुलको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुर पुल मर्मत प्रक्रियाका लागि अघि बढ्यो। निर्माणाधीन अवस्थामा भत्के बिग्रेका पुलको मर्मत विज्ञ प्राविधिक टोलीले अध्ययन गरेर दिने प्रतिवेदनपछि मात्र काम हुने प्रावधान पछ्याउँदै कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गर्‍यो।  

मन्त्रालयले विज्ञ टोली घट्नास्थल पठाएर प्रारम्भिक छानविन गरी फर्केको भोलिपल्ट अर्थात पहिले भत्केको १५ दिन नपुग्दै बाढीले पुल पुनः भत्कायो। पुलको अवस्था हेरेर मर्मतका लागि छानविन प्रतिjवेदन बुझाउन डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक झापाका सिनियर डिभिजन ईन्जिनियर (सिडिई), पुल महाशाखाका सिडिई र पुल सेक्टर १ धरानका ईन्जिनियरसहितको टोली स्थलगत अध्ययन गरी फर्केलगत्तै बाढीले पुलमा थप क्षति गरेको हो।  

साउन २ गते दोस्रो पटक बाढीले पुलका थप २ पिल्लर र ३ स्ल्याब भत्काईदिएपछि मर्मतका लागि आएको टोलीले अध्ययन प्रतिवेदन तयार गर्नै पाएन। त्यसपछि अध्ययन गर्न विज्ञ टोली मगाइए पनि अहिलेसम्म नआएको गाईघाट दिक्तेल सडक कार्यालय प्रमुख (डिई) गोपाल खकुरेल बताउँछन्। उनका अनुसार त्यो टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक हुनु र नहुनुसँग अहिलेको अवस्थाले सरोकार राख्दैन। किनभने पुल थप क्षति भएको छ र अर्को टोलीले पुनः अध्ययन गरेपछि मात्र मर्मतको पहल गर्नुपर्ने हुन्छ।  

दुईपटक बाढीले पुलका ३ वटा पिल्लर बंग्याईदिँदा ४ वटा स्ल्याब भाँचिएर कामै नलाग्ने अवस्थामा पुगेको डिई खकुरेलले बताएका छन्। सकिने बेला भाँचिएपछि अब मर्मत गर्ने कि अर्को पुल बनाउने भन्ने विषयमा विभागले निर्क्याैल नगरिसकेको उनी बताउँछन्। ‘हामीले दुईपटक पुल भत्कियो क्षति पनि ठूलै भयो भनेर मर्मत गर्ने या पुनर्निर्माण गर्ने भन्ने कुरा टुंग्याउन विभाग गुहारेका छौं’, खकुरेलले भने, ‘तर, अहिलेसम्म विभागले केही जवाफ दिएको छैन। पानीको सतह घटेपछि अर्थात वर्षा रोकिएपछि मात्र के गर्ने भन्ने टुंगा लाग्ला।’

०६७ सालमा ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेटमा निर्माण सुरु भएको ११ स्पानको २ सय ८० मिटर लामो तथा साढे ५ मिटर चौडाईको उक्त पुलका ३ पिल्ल र ५ स्ल्याब बाढीले भाँचिदिएको छ। अरु पिल्लर र स्ल्याब साबुज भए पनि पुल अब काम लाग्ने नलाग्ने भन्ने एकीन भन्न विज्ञ टोलीको अध्ययनपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ। ३ वर्षभित्र बनाईसकेर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरे पनि निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय जेभी कलंकीको लापरबाहीले पटकपटक म्याद थप्दै १२ वर्ष बिताउनु परेको हो।

समयमा काम नगरेका कारण समय १२ वर्ष र लागत ११ करोड २७ लाख पुगेको खकुरेलले बताए। २०६७ मा पुलको निर्माण थालेको थियो। डिजाइन र माटो परीक्षणको काम काडमाडौंस्थित बालाजु स्वाइल कन्सल्टेन्सीले गरेको पुलको निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण भत्केको अनुमान गरिए पनि यकिन कारण भने प्राविधिक अध्ययन टोलीकै प्रतिवेदनले मात्र देखाउने खकुरेलको भनाइ छ।

बनिसक्न लागेकै बेला पुल भाँचिएपछि राज्यलाई घाटा त हुने नै भयो, सँगसँगै वडावासीलाई थप समस्या भोग्नुपर्ने भएको छ। वडा नं. ६ बेलटारमा रहेको चौदण्डीगढी नगर केन्द्र आउजाउ गर्दा स्थानीयले यअसघिजस्तै डुंगाकै सहारा लिनुपर्ने बाध्यता लम्बिएको वडाध्यक्ष देवनारायण चौधरीले बताए। उनका अनुसार पुल बन्ने आसमा वर्षौंदेखि त्रियुगाको कहर सहदै आएका वडावासीलाई यसवर्ष पुल बनिसक्ने ठूलो अपेक्षा थियो। तर, बनिसक्नै लाग्दा बाढीले भत्काएपछि हिजोको समस्या ज्यँका त्युँ रहेको चौधरीले बताए।

धेरै पापड बेलेर छिटो छिटो काम गर्न लगाएर काम सक्न मेहनेत गरे पनि बाढीले भत्काएपछि जनताको दुःख जस्ताको तस्तै रहेको र आफ्नो मेहनेत खेर गएको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले गुनासो गरे। निर्माण सुरु भएको ६ वर्षपछि आफू मेयर जितेको र जित्नेबित्तिकै पहिलो प्राथमिक्तामा राखेर पुल निर्माणको कामलाई गति दिन विभाग, मन्त्रालय र प्रधानमन्त्रीसम्मलाई भेटेर लागि परे अनुसार काम भईरहेका बेला बाढीले पुल भत्काईदिएर सपना चक्नाचुर पारेको उनले बताए। स्थानीय जनता, सो रुट भएर सप्तरी र उदयपुर आउजाउ गर्ने लाखौं उपभोक्ता पुल बन्ने प्रतिक्षामा रहेकोमा अझै वर्षाैं कुनुपर्ने अवस्था आएको मेयर राईले बताए।

नगरप्रमुख राईका अनुसार पुल बनिनसक्दा वडावासीलाई बेलटार आउजाउ गर्न वर्सेनी डुंगा चढ्नुपर्ने स्थिति छ। शिवाईसँगै १० नं. वडाका हडियावासी र ९ नं. का ज्यामिरे, हडियावासीलाई वर्षायाममा त्रियुगा नदी तर्न नगरपालिकाबाटै डुंगा खरिद गरेर आउजाउको व्यवस्था मिलाइएको छ। त्यो कहरबाट मुक्ति पाउनका लागि शिवाईको भत्केको पुल तत्काल मर्मत गर्नपर्ने तथा ज्यामिरेमा अर्को पुल निर्माण गर्न मेयर राईले मन्त्रालयको ध्यानाकर्षण गरएका छन्।

प्रकाशित: ५ आश्विन २०७८ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App