४ वैशाख २०८१ मंगलबार
समाज

श्रीमानको हत्याको सुपारी प्रेमीलाई!

श्रीमतीले बुनिन् श्रीमानको हत्या योजना

श्रीमानकाे हत्या आरोपमा पक्राउ परेकी हरिहरदेवी महरा।

सिरहाको गोललबजार नगरपालिका– ४ निपनियाकि एक महिलाले श्रीमानको हत्याको योजना पूरा गर्न प्रेमीलाई सुपारी दिएको खुलेको छ। श्रीमानको हत्याको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।

गत भदौ १८ गते निपनियाका ३९ वर्षीय दुखरन मोचीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा फेला परेको थियो। मोचीको हत्या उनकै श्रीमती हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट खुलेको छ एसपी पाण्डेले भने,‘हत्या आरोपमा हरिहरदेवीलाई पक्राउ गरीएको छ।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतको जयनगर थानामा न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको सिरहाका एसपी पाण्डेले बताए। पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्। हरिहरलेवीले यादवलाई श्रीमानको हत्या गराउन ६० हजार रुपैयाँ सुपारी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शुभास बुढाथोकीले बताए। हरिहरदेवीले यो रकम गोलबजारकै एक लघुवित्त संस्थाबाट ऋण लिएको अनुसन्धानबाट खुलेको उनले बताए।

हरिहरदेवीलाई अपहरण तथा हत्या योजनामा मुद्दा चलाइएको छ भने मुकेशलाई भारतको जयनगर प्रहरीले ज्यान मुद्दामा कारवाही चलाएको एसपी पाण्डेले बताए। हत्याको प्रारम्भिक कारण अवैध प्रेम सम्बन्ध देखिएको प्रहरीले जनाएको छ। मृतक मोची लामो समय वैदेशिक रोजगारमा बसेर फर्किएका थिए। उनी गउँमै फर्निचर र किरानको पसल सञ्चालन गर्दै आएका थिए। उनको चार छोराछोरी छन्।  

वैदेशिक रोजगारमा कमाएको पैसाको हिसाव माग्दा मोची र हरिहरदेवीबीच झगडा भैरह्ने छिमेकिहरु बताउँछन्। मुकेशसँगको सम्बन्धका कारण पनि हरिहरदेवी र मोचीबीच झगडा भैरहन्थ्यो। प्रहरीका अनुसार हरिहरदेवी दुई पटक आत्महत्या प्रयास समेत गरेकी थिइन्। आफु मर्नुभन्दा श्रीमानलाई नै सफाया गरेर झन्झट साफ गर्ने सोचले उनी यो घटना गराएको प्रहरी बताउँछन्।

श्रीमानलाई सफाया गर्ने सोच त बनाइन तर कसरी ? यसका लागि उनी एम्बुलेन्स चालक रहेका मुकेशको साथ लिने सोच बनाइन्। र, उनीसँग योजना साझा गरिन। मुकेश र हरिहरदेवीबीच दुई वर्षअघि देखि सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जयनगरमा पाठेघरको अप्रेसन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर जाँदा मुकेशसँग उनको भेंट भएको थियो। उपचारको क्रममा अस्पताल बस्दा मुकेशसँग उनी नजीक भएकि थिइन।

श्रीमानको सफायाका लागि प्रस्ताव गर्दा मुकेशले हरिहरदेवीसँग   एक लाख भारतीय रुपैयाँ माग गरे। हरिहरदेवीले यती रकम दिन नसक्ने भन्दै ५० हजारमा काम गरिदिन आग्रह गरिन। ६० हजारमा कुरा मिल्यो। यो रकम जुटाउन उनले श्रीमानसँगकै सल्लाहमा भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकालिन्। ऋण निकालिसकेपछि हरिहरदेवीले विरामी भएको नाटक गरेर उपचारका लागि भारतीय बजार जयनगर जानुपर्ने भन्दै श्रीमानलाई फकाइन्। उनी श्रीमानसँगै जयनगर पुगीन्।

सीमावर्ती बजार माडर पुगेर उनले मुकेशलाई फोन गरेर आफू श्रीमानसँगै जयनगर आइरहेको जानकारी दिइन्। हत्याका लागि कबोल गरेको रकम श्रीमानसँगै रहेको समेत उनले मुकेशलाई बताइदिइन्। जयनगर रेल्बे स्टेशनमा चिया पिउने क्रममा मुकेशसहित तीन जना आइपुगे। मुकेशले दुखरनलाइ खाजा खान जाउ भन्दै बाइकमा चढाएर लगे। उत्तै हत्या गरेर नहरमा फालिदिए।

त्यसपछि घर फर्केर हरिहरदेवीले श्रीमानको भारतमै अपराधिक समुहले हत्या गरिदिएको र शव समेत बेपता बनाएको गाउँलेलाई बताएकि थिइन्। प्रहरीले घटनाको शुक्ष्म अनुसन्धान गर्दै जाँदा तथ्य झस्काउने खालको बाहिर आएको छ, एसपी पाण्डेले बताए।

प्रकाशित: ५ आश्विन २०७८ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App