७ वैशाख २०८१ शुक्रबार
समाज

सुदूरपश्चिममा कोराेनाबाट २ को मृत्यु

जटिल प्रकृतिका संक्रमित बढ्दै, परीक्षण न्यून

सुदूरपश्चिममा कोराेनाको संक्रमणले सोमबार दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका २ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। मृत्यु हुनेमा बझाङ सुर्मा गाउँपालिका, ४ का ५५ वर्षीय पुरुष र सुर्मा गाउँपालिका २ का ४० वर्षीय पुरुष रहेको उनले बताएका छन्। ५५ वर्षीय पुरुष भदौ २४ गते र ४० वर्षीय पुरुष भदौ २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। 

पछिल्लो दिनमा अस्पतालमा कोराेना संक्रमणका जटिल प्रकृतिका लक्षण भएका बिरामी आउन थालेको उनले बताए। अस्पतालमा ९ जना जटिल प्रकृति लक्षण भएका संक्रमित भर्ना भएका छन्। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ६२ को परीक्षण गरिँदा ३६ जनामा कोराेना संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पतालका कोराेना उपचार विभाग प्रमुख चिकित्सक शेरबहादुर कमरले कोराेना संक्रमण हुनेको संख्या कम भएपनि पछिल्लो दिनमा कोराेना संक्रमणका जटिल प्रकृतिका बिरामी देखिन थालेको बताए। 

‘समुदायमा कोराेना संक्रमण छ, युमिनिटी पावर कम भएका र अन्य बिराम लागेकाहरुमा कोराेना संक्रमणले जटिल समस्या देखिने गरेको छ,’ उनले भने। मान्छेको गतिविधि बढेको र स्वास्थ्य मापदण्ड नअपनाइएकोले कोराेनाको संक्रमण दर घट्न नसकेको उनको भनाइ छ।

परीक्षण न्यून भएकाले कोराेनाको संक्रमण कम नभएको स्थानीय बताउँछन्। कोराेना संक्रमणले जटिल समस्या भएकाहरु मात्र अस्पताल जाने गरेका छन्। कोराेनाको संक्रमणले मृत्युदर बढ्न थालेको छ। पछिल्लो एक सातामा सुदूरपश्चिममा कोराेना संक्रमणले ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ हजार १५ मध्यमा ५३ जनामा कोराेना संक्रमण देखिएको छ। सुदूरपश्चिममा कन्ट्रयाक्ट ट्रेसिङ गर्न छोडिएको छ। कोराेनाको परीक्षण न्यून गर्ने गरिएको छ। लक्षण भएर आफै जाँच गर्न अस्पताल गएका बाहेकलाई परीक्षण गर्ने गरिएको छैन।  

गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोराेनाले ५७ जनाको मात्र मृत्यु भएको थियो। ४६ हजार ९ सय १० जनामा कोराेना संक्रमण देखा परेकोमा ५ सय ९१ जनाको मृत्यु भएको छ।

प्रकाशित: ४ आश्विन २०७८ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App