८ वैशाख २०८१ शनिबार
समाज

विभेद र असुविधामा दलित बस्ती

रौतहटको एक दलित बस्तीका सर्वसाधारण असुविधा र विभेदमा रहेको देखिएको छ। रौतहटको राजदेवी नगरपालिकामा रहेको एक दलित बस्तीका स्थानीय बासिन्दाहरु सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ। 

जनचेतनाको अभाव र सामाजिक पहुँचको अभावका कारण राजदेवी नगरपालिका ६ का करिब ६० दलित घर सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको हो। वाग्मती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ। 

गाउँ गाउँमा सिँहदरवार भएको अनुभूति दिलाउन सरकारको तिन वटै निकायको योजना रहे पनि उनीहरु स्थानीय निकायबाटै पाउने सेवा सुविधानबाट वञ्चित हुनुपरेको स्थानीय बासिन्दाहरु बताउँछन्। बाढी प्रभावित व्यक्तिहरुका लागि उचित व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको जग्गामा दलितहरु वर्षौँदेखि बसोबास गर्दे आएका छन्। 

झण्डै ४० वर्षदेखि निरन्तर बसोबास गर्दे आएका उनीहरुलाई अहिलेसम्म पनि सरकारी सेवा सुविधा उपलब्ध नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन्। दलित भएको कारण तिनीहरुलाई परेको समस्याको बारेमा बुझ्ने फुर्सद पनि कसैलाई नभएको गुनासो स्थानीयको रहेको छ। दलित बस्तीमा नगरपालिकाबाट कुनै किसिमको विकास समेत गरिएको छैन, विकासमा विभेद गरिएको बताउँदै उनीहरुले सामुहिक रुपमा भन्छन् शौचालय, स्वच्छ खानेपानी, बिजुली, बाटोघाटो, विद्यालय, लगायतका भौतिक पुर्वाधारका आधारहरु उपलब्ध नहुँदा उनीहरु वर्षोदेखि अनागरिक जस्तै कष्टकर जीवन बिताउन बाध्य छन्। 

वाग्मती नदीको बाढीबाट विस्थापित भई विगत ४० वर्षदेखि रेडक्रसले दिएको जग्गामा बसोबास गर्दे आए पनि हालसम्म प्रदेश सरकारको जनता आवास कार्यक्रममा समेत आफ्नो बस्ती छनौट नभएकोमा उनीहरुले गाउँ गाउँमा सिंहदरवारको महसुस नभएको बताउने गरेका छन्। नदी कटानबाट घरबारविहिन भई दाताले दिएको जग्गामा बसोबास भए पनि हालसम्म उनीहरु नारकिय जीवन बिताउन बाध्य भएको बताउँदै उनीहरु एउटै कोठामा सासु, ससुरा, छोरा, बुहारी, नाती, र पशु समेत रहेको घरमा खाना समेत बनाउने गरी जीवन व्यतित गर्दे आएका छन्।  

६० वटा भत्केका छाप्रो घरमा दुई सय भूमिहिन परिवारका पासवानहरु वर्षाको बेला पानी चुहिने, घर भित्रै पानी जम्मा हुने समस्याबाट पीडित हुँदै आए पनि सो वडामा रहेको नगरपालिकामा त्रिपाल एवं प्लास्टिक माग्दा समेत कुनै सहयोग नपाएको गुनासो समेत उनीहरुको रहेको छ। दलित बस्तीको अवस्थाको बारेमा सबैलाई जानकारी भएको तर काम गर्न कोही पनि अगाडि आउने नगरेको बस्तीका मानिसहरु बताउँछन्। समस्या बताए पनि नाम बताउँदा कसैले केही गर्ला कि भन्ने डरले दलितहरुले आफ्नो समस्या समाधान गरिदिन याचना गरेका छन्। 

प्रकाशित: ४ आश्विन २०७८ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App