८ वैशाख २०८१ शनिबार
समाज

विद्युतीय धरापमा परेर पत्नि, भाइ र बुहारी गुमाएका गुरिलाल भन्छन्ः पत्निको शव देख्दा आफै बेहोश भएँ

बर्दिया अस्पतालमा भेटिएका गुरिलाल थारु। शुक्रबार राती छिमेकीले थापेको विद्युतीय धरापमा परेर थारुको पत्नि, साहिलो भाइ र बुहारीको ज्यान गएको छ । तस्बिर : निर्मल घिमिरे

बर्दिया जिल्ला अस्पताल परिसरमा शनिबार दिउँसो भेटिएका ठाकुरवावा–३ कागोदानाका ४४ वर्षीय गुरिलाल थारुको अनुहारमा अँध्यारो छाएको छ। चिन्ताको बादल मडारिएको गुरिलालको अनुहारमा प्रष्टसँग झल्किन्छ। विना सुरमा बोलिरहेका गुरिलाल कहिले भक्कानिन्छन् त कहिले आफै सम्हालिन खोज्छन्। यो दृश्य हेरिरहेका आफन्त र साथीभाइको मन पनि भत्भती पोलिरहेको जो कोहीले अनुभूति गर्न सक्छ।

जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेकी पत्नि बेलमति गुमाएपछि बर्दिया अस्पतालमा भेटिएका गुरिलाल छटपटिमा छन्। बुढेसकालको सहारा जीवन संगिनी गुमाउँदा गुरिलाल मुर्छित छन्।  

आफन्तले पिलाएको पानीको भरमा बाँचे पनि गुरिलालको अचेत छन्। आफन्तसहित ४५ वर्षीया पत्नि बेलमति, ३५ वर्षीय साहिला भाइ बालकृष्ण र ३० वर्षीया बुहारी सुनिताको शव पोष्टमार्टम गर्न बर्दिया अस्पतालमा कुरिरहेका उनी विछिप्त छन्। मास्क लगाएर उभिरहेका उनीसँगै आफन्त र साथीभाइलाई पनि देख्न सकिन्छ। तर आफूसँगै बाच्ने बाँचा कसम खाएकी पत्नि नहुँदाको पीडा खपिनसक्नु छ उनलाई।

कसरी भयो घटना

शुक्रबार राती ९ बजे। गर्मीको समय भएकाले घरको दैलोमा पत्निसँगै रमाईलो गफमा व्यस्त थिए गुरिलाल। भविष्यका सपना पत्निसँग साट्न थालेका बेला उनको परिवारमा बज्रपात पर्छ भन्ने कल्पना पनि गरेका थिएनन् उनले।  

कुराकानी गरिरहँदा रातीको साढे ९ बज्छ। पत्नि बेलमतिलाई शौचालय जान मन लागेको थारुलाई सुनाउँछिन्। बेलमतिले श्रीमानलाई भनेर शौचालय जान्छिन् तर फर्कन समय लाग्छ। र, दश बज्छ। पत्निको पर्खाइमा बस्दा बस्दै गुरिलालको मनमा चिसो पस्छ। जंगली जनावरको चहलपहल हुने क्षेत्र भनेर सम्झँदा मुटुको कुना चसक्क हुन्छ गुरिलालको। अन्धकारमा खोज्न निस्कन्छन्। तर पत्निलाई भेट्दैनन्।

दुई सय मिटर टाढा टर्च बलेको देख्छन्। त्यहाँसम्म पुग्न पनि आँट उनले गर्न सक्दैनन्। जेठानको छोराले गुरिलालको छटपटाहट देख्छन्। गुरिलाल भन्छन्, ‘बेलमति फर्किनन्, कहाँ गई होलिन्।’ टर्च बलेको तर्फ दुई जना हानिन्छन्। टर्च बलेको ठाउँमा छिमेकी राजबहादुर शाही भेटिन्छन्। ‘मबाट ठूलो गल्ती भयो, अब के गर्ने होला?’, हतोत्साहित हुँदै शाही भन्छन्।  

त्यति बेला पत्नि बेलमतिले बोकेको टर्च शाहीको हातमा देख्न्छन् गुरिलालले। खेतमा पल्टिरहेकी पत्निलाई शाहीले जबरजस्ती बोकेर ढाँडमा राख्छन्। पत्निलाई बोकेर घर हिँड्छन् र पछि पछि शाही पनि आउँछन्। पत्निको मृत्यु भएको थाहा पाएपछि उनी मर्छित हुन्छन्।

‘बेलमति नरहेको थाहा पाएपछि म मुर्छित भएको थिए’, उनले सुनाए।

बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीनजनाको ज्यान जाँदा गाउँ नै शोकमग्न भएको छ। उक्त परिवारको ६ भाइको घर लस्करै छ। तर गुरिलालले साहिलो भाइ, बुहारी र पत्नि बेलमति गुमाए। बेहोस भएपछि होहल्ला हुँदा भाइ र बुहारीको शव कुलोमा भेटिएको गुरिलालले बताए। पीडामाथि पीडा थपिएको छ, बुबाको ५ भाइको सन्तानको घर अहिले शोकमा डुबेको उनले सुनाए।

डिभिजन वन कार्यालय अन्तर्गत पर्ने क्षेत्रमा विद्युतीय धरापमा जनावर पर्ने घटना पहिले भए पनि मानिस नै उक्त धरापमा परेर एकै परिवारका तीनजनाको ज्यान गएको यो पहिलो घटना हो। यसअघि विद्युतको धरापमा पर्दा जंगली हात्तीको मृत्यु भईसकेको छ।  

बर्दिया निकुन्जको मध्यवर्ती क्षेत्रमा विद्युतीय धराप राख्न सक्ने जोखिम रहेकाले नेपाली सेना र निकुन्ज प्रशासन बेला बखतमा स्वीप अप्रेशन संचालन गर्दा अप्रिय घटना नघटेको निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले बताए। ‘घटना घटेको क्षेत्र मध्यवर्तीभन्दा बाहिरको हो’, उनले भने,‘वन्यजन्तुसँग द्वन्द्व हुने क्षेत्र पहिचान गरेर सम्भावित घटना हुन नदिन कार्यक्षेत्रमा चनाखो हुन जरुरी छ।’

वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले वन्यजन्तुलाई क्षति पुगेको भए वनले अनुसन्धान गर्ने गरेको बताए। उनका अनुसार मानिसलाई क्षति पुगेकाले प्रहरीले यस घटनाको विस्तृत अध्ययन गर्छ। घटनास्थलमा तत्काल पुगेर पीडित परिवारको संरक्षण र दोषीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख ईश्वर कार्कीले बताए। 

‘स्थलगत मुचुल्का र पोष्टमार्टमका लागि सबै कागज प्रक्रिया प्रहरीले पुर्याएको उल्लेख गर्दे दोषी देखिएका शाहीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको उनले जानकारी दिए। घटना स्थलमा फेला परेका वस्तु प्रहरीले बरामद गरेको उनले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०७८ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App