७ वैशाख २०८१ शुक्रबार
समाज

हाम्रो सडक कहिले बन्छ ?

चार वर्षअघि ठेक्का लागेको सडक अझै अपलत्र

खोलखोलेदेखि गोरखा नगरपालिका खण्डको सडक निर्माण छिटो सक्न माग गर्दै स्थानीय । तस्बिरः नागरिक

चारवर्ष अघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोकजाने सडक अझै कालोपत्रे भएको छैन । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित छन् ।

संघीय आयोजना कार्यन्वय इकाई पोखराले आर्थिक वर्ष २०७४/७५ मा करिब दुईकरोड ५० लाख रुपैयाँमा यो सडक ठेक्का लगाएको हो । निर्माणको जिम्मा लिएको मिलेनियम कल्पवृक्ष जेभीले १४ सयमिटर सडक खण्ड मध्ये चारसय मिटर मात्र आफ्नो जिम्मामा रहेको जनाएको छ । ‘धेरै काम सकिएको छ, हामीले चारसय मिटर मात्र कालोपत्रे गर्ने हो, सबै होईन,’ निर्माण कम्पनीका संचालक हरि पन्तले भने । आयुर्वेद चोक देखि ढलान गर्ने काम भने सकिएको उनले बताए । कोरोनाको प्रभावका कारण सडक निर्माण समयमै हुन नसकेको बताउँदै निर्माण व्यवसायी पन्तले मौसमले साथ दिए दसैंअघि कालोपत्रे हुने बताए ।  

तर सोही कम्पनीले जिम्मा लिएको आयुर्वेद अगाडीको सडक, बसपार्कमा स्ल्याब राख्ने काम, सतिपिपलबाट गोरखा दरबार जाने सडक, स्वास्थ्य कार्यालय देखि वल्र्ड क्यापिटल विद्यालयतर्फ जाने सडक पनि अलपत्र छ । एकै समयमा टेण्डर भएको यी आयोजना मध्ये एउटा पनि काम पुरा भएको छैन ।  

‘सडक नबनेर जनताले धेरै दुख पाए, पैदल हिड्दा पनि जुत्ता बोकेर हिड्नु परेको छ,’ स्थानीय कृष्णबाबु थापाले भने ‘बाटो नहुँदा केही समय अघि गाउँबाट शव उठाउन पनि सकिएन ।’ उक्त सडकमा खाल्डाखुल्डी रहेको, पानी जम्ने, सवारी साधन आउजाउ नभएको र निर्माण व्यवसायील्े बीच सडकमा निर्माणमा प्रयोग हुने सवारी साधन तेर्साएर राखेकाले सवारी चल्न थप सकस भएको स्थानीय बिनोद बस्नेतले बताए ।  

‘ब्यापारी व्यवसायीले गोदामसम्म सामाग्री ल्याउन पनि सकेका छैनौं,’ उनले भने ‘ठेकेरदाको लापरवाहीले अहिले अन्यत्रै गोदाम खोजेर भाडा तिर्नुपरेको छ ।’ शनिवार नागरिक साझा सवालको अगुवाईमा स्थानीयबासीले सडक छिटो मर्मत गर्नुपर्ने माग सरोकारवाला सँग राखे । साथै उनीहरुले गोरखा नगरपालिका, जिल्ला प्रशासन लगायतका कार्यालयले पनि सडक छिटो बनाउन दबाव दिनुपर्ने बताए । उक्त सडक खण्डामा पर्ने गोरखा नगरपालिका ८ का अध्यक्ष कृष्ण केसीले स्थानीयले वर्षाैदेखि सडकका कारण दुःख भोग्नुपरेको बताए । ‘वडाध्यक्षले केही गरेन भन्नुहुन्छ, मैले कैयौंपटक कार्यालय प्रमुख र ठेकेदारलाई भनेको छु,’ उनले भने ‘तर सुनेको नसुने झै गर्छन ।’  

गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले संघीय सरकारले ठेक्का लगाएको सडक भएकाले नगरपालिकाले सोही सडकमा काम गर्न नसकेको बताईन । ‘दोहोरो बजेट राख्न सकिँदैन, त्यस्तो व्यवस्था पनि छैन’, उनले भनिन् ‘तर ठेकेदार र ठेक्का लगाउने कार्यालयलाई पटक–पटक छिटो काम गर्न भनेका छौं, अटेरी गरेका छन् ।’ यस अघि जिल्ला प्रशासन कार्यालयले पनि उक्त सडक छिटो निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको थियो ।  

खोलखोलेदेखि नगरपालिका सम्म जाने १४ सय मिटर मध्ये बाँकी एककिलोमिटर भने बजेट अभावले अलपत्र छ । उक्त बाँकी खण्ड ठेक्का लगाउन बजेट नभएको संघीय आयोजना कार्यन्वयन इकाईले जनाएको छ । ‘अहिले चलिरहेको काम सकियो भने बाँकी कामको ठेक्का नगरपालिकाले आफैँ लगाउन सक्छ’ नगरप्रमुख राजनराज पन्तले भने । काम अलपत्र हुँदा अहिले कति, कहाँ ठेक्का लगाउने भन्ने यकिन हुन नसकेको उनले बताए ।  

संघीय आयोजना कार्यन्वय इकाई पोखराका कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माण व्यवसायीले समयमै काम नगर्दा ढिलो भएको बताएका छन् । निर्माण व्यवसायीलाई काम सक्न ताकेता गरिरहेको उनले बताए ।

प्रकाशित: २ आश्विन २०७८ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App