६ वैशाख २०८१ बिहीबार
समाज

जेष्ठ नागरिक सम्मानित

मोरङको बुढीगंगास्थित राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाले ७१ जना जेष्ठ नागरिकसहित ९१ जनालाई सम्मान गरेको छ। २१ औं वार्षिक साधारण सभामा शेयर सदस्यका परिवारका  ७५ वर्ष नाघेका जेष्ठ नागरिकहरू ६५ वर्ष नाघेका जेष्ठ शेयर सदस्य र एकल महिला शेयर सदस्यहरू गरी ९१ जनालाई सम्मान गरेको हो।  

सम्मानित हुनेहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दोसल्ला ओढाएर सम्मानित गरेका थिए। साधारणसभामा प्रदेश प्रमुख प्यासीले सहकारीले मुलुकको अर्थनीतिमा प्रत्यक्ष प्रभाव पारेको बताए। उनले आर्थिक समस्या समाधान गर्न सहयोद्धाहरूको साझा संस्था सहकारी बन्दै गएको धारणा राखे।  सहकारीकी अध्यक्ष तारादेवी राईले सहकारीमा हाल ९ सय २ जना  महिला सदस्यहरु आवद्ध रहेको बताइन्। उनले विभिन्न ४३ वटा समूहमार्फत् बचत तथा ऋण परिचालन भइरहेको जानकारी दिइन्।

प्रतिव्यक्ति पाँच सयको दरले रकम सङ्कलन गरी २१ वर्षअघि मोरङको बुढीगँगा गाउँपालिकामा स्थापना भएको सहकारी संस्थाले हाल एक करोड १२ लाख रुपैयाँ पुँजी पुर्याइसकेको छ।  २०५७ सालमा स्थानीय ४४ जना महिलाहरु सङ्गठित भई महिलाहरुको क्षेत्रमा मात्र काम गर्ने गरी २२ हजार रुपैयाँ लगानी गरी उक्त सहकारीको स्थापना गरेका थिए।

सहकारीले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँको कारोबार गरेको संस्थाकी अध्यक्ष तारा राईले जानकारी दिइन्। उनले संस्थाले विपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि बाख्राका पाठी बितरण गरिहेको बताइन्। सहकारीले वितरण गरेको पाठी व्याएपछि सहकारीलाई एउटा पाठी फिर्ता गर्ने सर्तमा सहकारीले संस्थाका सदस्यहरूलाई निःशुल्क बाख्राको पाठी उपलक्ब्ध गराइरहेको राईले जानकारी दिइन्।

कार्यक्रममा  राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेश पोखरेल, नेकपा एमालेका प्रदेश १ सचिव विनोद ढकाल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, बुढीगंगा–१ का वडाध्यक्ष युवराज पौडेल र वडा नं. ३ का वडाध्यक्ष तिलकनाथ माझी लगायतले सहकारीको माध्ययमबाट गरिबीको अन्त्य गर्न सकिने धारणा राखे।

प्रकाशित: १ आश्विन २०७८ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App