coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

न्याय माग्न बाँकेदेखि पैदलै काठमाडौं

न्यायका लागि नेपालगन्जबाट काठमाडौंसम्म पैदल यात्रामा निस्केका अधिकारकर्मी रुबी खान र पीडित परिवारहरु। तस्बिर: गणेश/नागरिक

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरु न्यायका लागि काठमाडौं पैदल यात्रा सुरु गरेका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले न्यायका लागि पैदलयात्रा सुरु गरेका हुन्।

न्यायका लागि पीडित परिवार र महिला अधिकार मञ्चका पदाधिकारीहरु भदौ १२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि दैनिक एक घण्टा शान्तिपूर्ण धर्ना बस्दै आएका थिए। उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय मौन बसेको र पीडित परिवारहरु धर्नामा बस्दासमेत जिल्ला प्रशासन कार्यालय मुकदर्शक भएको भन्दै काठमाडौंसम्म पैदल यात्रा सुरु गरेको पीडित परिवारले जनाएका छन्। उनीहरु लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलस्थित मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्नामा बस्ने कार्यक्रम छ। ‘मुख्यमन्त्री कार्यालय अगाडि चार/पाँच दिन धर्ना बस्छौं,’ न्यायका लागि पैदल यात्रा गरेका राहुल शेषले भने, ‘त्यसपछि हामी काठमाडौं प्रस्थान गर्ने छौं।’ 

काठमाडौं गएर शान्ति वाटिकामा आन्दोलन गर्ने उनले जनाए। न्याय नपाउँदासम्म जिल्ला नफर्किने उनीहरुको भनाइ छ। ‘जिल्लामा न्यायको गुहार माग्दा सुनुवाइ भएन,’ उनी भन्छन्, ‘यहाँ न्याय नपाएपछि काठमाडौं हिँडेका हौं।’ महिला अधिकार मञ्चकी जिल्ला इन्चार्ज रुबी खानसहित ११ जना पीडित परिवारहरु पैदल काठमाडौंको पैदल यात्रामा निस्किएका छन्। 

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस्, राजनैतिक दबाबमा पीडकको वकालत गर्ने जस्ता प्रवृतिले महिला हिंसामा थप टेवा पुर्‍याएको र महिला अधिकारकर्मीहरुलाई अपमानित गरेका, अभद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झुठ्ठा मुद्दामा फसाएकोले बाँके जिल्ला का प्रहरी प्रमुख श्यामकृष्ण अधिकार र डिएसपी मधुसुदन न्यौपानेलाई तुरुन्त विभागीय कारबाही गरियोस् भन्ने दुई बुँदे माग राखेर उनीहरुले न्यायका लागि पैदल यात्रा गरेका छन्।

बीच बाटोमा खान बस्नको व्यवस्थापन नगरेर उनीहरु नेपालगन्जबाट हिँडेका छन्। जहाँ भोक लाग्छ त्यहाँ जहाँ रातपर्छ त्यहाँ जनताको घरमा खाने र बस्ने गरी उनीहरु निस्किएका छन्। साउन ५ गते राति जानकी गाउँपालिका–२, नेवाजीमा घरमै  धोबी झुन्डिएको अवस्थामा भेटिएको उनका भाई माधदप्रसाद धोबीले बताए। ‘झुन्डिएको अवस्थामा रहेकी दिदीको नाक, कानबाट रगत बगिरहेको थियो,’ उनले भने, ‘शरीरभरि निल डामसमेत देखिएको थियो।’ एउटा महिलालाई हत्या गरेर आत्महत्या भएकी भनि घटना ढाकछोप गरिँदा पनि राजनीतिक शक्तिको प्रभाव परेर न्याय मार्न खोजिएको उनले बताए।

मृतकका परिवारले नन्कुन्नीको आत्महत्या नभइ उनका श्रीमान् रामकुमार धोबीलगायतले मारेर झुन्ड्याएको आशंका व्यक्त गरिरहेका छन्। ‘आत्महत्या गरेको व्यक्तिको शरीरमा कसरी निलडाम भयो ? कसरी नाक कानबाट रगत बन्यो,’ उनले प्रश्न गर्दै भन्छन्, ‘यो सब राजनीतिक पहुँचका आधारमा घटनालाई सामान्यकरण गरिँदैछ।’ हत्या भएको भनिएका बेला प्रहरीले उजुरीसमेत लिन नमानेको आफन्तको भनाइ छ। ‘हामीले मृतकका श्रीमान् रामकुमारलगायतका नाममा हत्याको उजुरी दिन थाल्दा प्रहरीले उजुरी लिन मानेन,’ नन्कुन्नीकी गाउँले आफन्त गीता चमार भन्छिन्, ‘हामीले आन्दोलन गरेरपछि बल्ल उजुरी लिएको छ।’ 

पीडित परिवार र अधिकारकर्मीहरुको धर्ना पछि प्रहरीले भदौ २० गते मुद्दा दर्ता गराएको थियो भने धर्ना बसेको १५औँ दिनअर्थात् भदौ २७ गते मृतक नन्कुन्नीका श्रीमान् रामकुमारीलाई प्रहरीले पक्राउ गरेको थियो। अन्यलाई भने प्रहरीले पक्राउ गरेको छैन। एकल महिला निर्मला कुर्मीका नाममा रहेको सम्पत्ती लिनलाई उनको पनि परिवारका सदस्यहरुले हत्या गरेको महिला अधिकार मञ्चकी बाँके इन्चार्ज रुबी खानले बनाइन्। 

‘निर्मलाको नाममा २५÷३० करोडको चलअचल सम्पत्ती छ,’ उनले भनिन्, ‘त्यही सम्पत्तीको लोभमा आफन्तले अपहरण, शरीर बन्धक गरी कर्तव्य ज्यान लिएका हुन्।’ मुद्दा दर्ता भएको नौ महिनासम्म प्रहरीले कुनै प्रक्रिया अगाडि नबढाएको महिला अधिकार मञ्चको भनाइ छ। पीडितका पक्षमा बोल्दा उल्टै आफूविरुद्ध झुट्टा मुद्दा दर्ता गराउन लगाएको उनले बताइन्।

यता प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टमै आत्महत्या गरेको स्पष्ट खुलाएको बताएको छ। यसमा पुनः अनुसन्धान गर्ने भए पनि आन्दोलन नभइ शान्तिपूर्ण ढंगले प्रहरीलाई सघाउनु पर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेले बताए। निर्मला भने सम्पर्कविहीन भएकाले उनको अवस्था भन्न नसकिने उनको भनाइ छ। 

‘निर्मलाको खोजी कार्य गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि थप प्रहरीले काम गर्छ।’ यी दुई घटनामा प्रहरीद्वारा भए गरिएको चरम लापर्बाहीले महिलाहरु थप जोखिममा परेको महिला अधिकार मञ्चले जनाएको छ। ‘घटनालाई ढाकछोप गर्दा महिलाप्रति हुने हिंसा थप र समाजमा थप अराजकता फैलिने देखिएको छ,’ पैदल यात्रा सुरु गर्नुभन्दा पहिला महिला अधिकार मञ्चले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १ आश्विन २०७८ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App