८ वैशाख २०८१ शनिबार
समाज

हुम्ली–बझाङी गौरा धनगढीमा

हुम्ली र बझाङी ठकुरी बस्तीको गौरा धनगढीमा पनि मनाइएको छ। सुदूरपश्चिमका अन्य जिल्लामा केही दिनअघि गौरा मनाएर सकिए पनि हुम्ला र बझाङका ठकुरीहरुले भने हिजोआज गौरा मनाइरहेका छन्।

बझाङमा पुर्ख्यौली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन्। तिजपछि उजेली गौरा भन्दै बझाङी ठकुरी समुदायले धनगढीको जुगेडा गाउँमा गौरा पर्व मनाएका हुन्। धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा गौरा भित्र्याएर तीन दिन ब्रत बसी बुधबार समापन गरेका छन्। ब्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याएर तीन दिन ब्रत बसेर बुधबार समापन गरिएको सर्मिला सिंहले बताइन्। उनले भनिन्,‘पुर्ख्यौली घर बझाङ र हुम्लामा भएका ठकुरीहरुले यहाँ गौरा मनाएका हौँ।’  

पुरुषहरुले ढाल तरबारसहितको खेल खेल्ने गर्छन् भने ब्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने गरिएको बताउँदै सिंहले भनिन्, ‘ब्रतालुहरुले हातमा पातीको डाँठ समातेर भगवानको गाथा गाउँदै गोल घेरा बनाई खेल खेल्ने गरिन्छ।’ तीजको ब्रतपछि मनाइने हुम्ली र बझाङी गौरालाई उजेली गौरा भनिएको बताउँदै पुर्ख्यौली घर बझाङ भई हाल धनगढी जुगेडामा बस्दै आएका रतनबहादुर सिंहले बताए। उनले भने, ‘हाम्रो र सुदूरपश्चिमका अन्य जिल्लामा मनाइने गौराको विधि र पद्दती एउटै भए पनि समय भने फरक छ ।’ हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि मात्रै गौरा मनाउने गरेको उनले बताए। ‘हामीले जुम्ली राजाहरुको नीति र तिथिलाई मानेर परम्परादेखि तिजपछि नै गौरा मान्दै आएका हौँ,’ पुजारी चेतराज जोशीले भने, ‘हाम्रो गौरा जुम्ला, हुम्लाका राजा रजौटासँग मेल खान्छ र त्यही तिथिअनुसार तिजको ब्रत सकिएपछि मनाउने गर्छौं।’  

हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि गौराको पूजा गर्ने चलन रहेको बताउँदै धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले भनिन्, ‘सुदूरपश्चिमका अन्य जिल्लामा भन्दा बझाङी ठकुरीहरुको फरक चलन छ, त्यही अनुसार तिजपछि नै उहाँहरुले गौरा पर्व मनाउने गर्छन्।’ बझाङी ठकुरीहरुको गौराको आफ्नै महत्व र समय रहेको बताउँदै उनले भनिन्, ‘उहाँहरुको पर्वलाई पनि हामीले धनगढीमा मनाउन पाउँदा खुसी छौँ।’ उपमहानगरपालिकाले पनि बझाङी ठकुरीहरुको गौराघरका लागि सहयोग गर्ने उनले बताइन्।  

प्रकाशित: ३० भाद्र २०७८ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App