८ वैशाख २०८१ शनिबार
समाज

नदी कटान क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको चन्दननाथ नगरपालिका १ दानसाँघु स्थित नदी कटान क्षेत्रमा पुगेका छन्। नदी कटानले दर्जन बढी घर जोखिममा रहेको र खेतीयोग्य जमिन दैनिक रुपमा कटान भइरहेकोले प्रत्यक्ष अनुगमनका क्रममा उनी त्यो क्षेत्रमा पुगेका हुन्।  

यहाँका दर्जन बढी घर जोखिममा परेकोले केही समयपछि विस्थापित भएर बस्नु पर्ने बाध्यता आउन सक्ने स्थानीयले बताएका थिए। यो बस्ती जवा नदी र तिला नदीको संगम स्थल हो। यहाँ अवैध रुपमा ढुंगा, बालुवा उत्खनन गर्न थालेपछि नदीले कटान गर्न थालेको हो। अहिले सदरमुकाम खलंगा हुँदै गुठिचौर गाउँपालिका जोड्ने दुई पक्की पुल जोखिममा छन्। नदी आसपासका खेतीयोग्य जमिन नदी कटानले बगाएर लगेको स्थानीय बिष्णु शाही बताउँछिन्।

उनको मात्र एक स्याउ बगैँचा नदीले कटान गरेर बगाएको छ। उनले भनिन्,‘अहिले तिला नदी आसपासका बस्ती खेतीयोग्य जमिन र भौतिक संरचना निकै जोखिममा छन्। ’दाहसंस्कार गर्ने आर्यघाट समेत बगाउँदै लगेको छ। नदी कटानका कारण यहाँको जनजीवन नै कष्टकर बनेको छ।  

गुठिचौर जोड्ने सडक समेत नदी कटानको जोखिममा छन्। जसका कारण बर्षा भइरहेको समयमा यात्रा गर्न निकै सकस हुने गरेको छ। चन्दननाथ नगरपालिका १ का वडाध्यक्ष जयबहादुर रावल नदी कटानका कारण यहाँका स्थानीयको रोजीरोटी गुमेको बताउँछन्। उनले भने, ‘दानसाँघुदेखि नाइकामुलसम्मको खेतीयोग्य जमिन बगाएर लगिसकेको छ। यहाँको बस्ती खेतीमै निर्भर छ।’

दानसाँघुमा रहेको धार्मिक क्षेत्र समेत संकटमा छ। यहाँ गणेश र शिवजीको मन्दिर छ। नदी कटानले मन्दिर जोखिममा छ। वरिपरिको सबै जमिन कटान गरेर लगिसकेपछि तिर्थालुहरु बस्ने ठाउँसम्म छैन। यो मन्दिरमा हरितालिका तीज र जनैपुर्णिमाको दिनमा भिड लाग्छ। अहिले न उभिने ठाउँ छ नत शान्तपूर्वक बस्ने ठाउँ नै छ। निरन्तर कटान भइरहे केही वर्षपछि मन्दिरको अवशेष रहने छैन। वडाध्यक्ष रावलले भने, ’नदी कटाने अधिकांश किसानको जग्गाको कित्ताको नामोनिसान नै छैन। केहीको आधार बगाएर लगेको छ।’

चन्दननाथ १ की बिष्णुमाया शाही नदीले वर्सेनि जमिन बगाउँदै लैजान थालेपछि निकै चिन्तत छन्। उनले नदी कटान रोकथाम तथा नियन्त्रणको कार्य गर्न सरोकारवाला निकायलाई आग्रह गरिन्। उनले भनिन्, ‘यो क्षेत्र कृषिमा निर्भर छ। खेतीयोग्य जमिन नै बगाएर लगेपछि किसानको छाक खोसिँदै जान थालेको छ। यो संकटपूर्ण घडिमा सबैको साथ चाहिन्छ।’

नजिकै दुई वटा पक्की पुल बनेका छन्। पुल बनाउने क्रममा नदिनमा डोजर प्रवेश गरेर जमिन हल्लिएपछि अहिले नदीले कटान गरिरहेको छ। डोजर नदीमा हाल्दा नदीमा कटान बढ्यो, स्थानीय खड्क बुढाले भने,‘अहिले सम्म यो नदीले कुनै क्षति पुर्‍याएको थिएन। आफ्नै गतिमा शान्तपूर्वक बगिरहेको थियो। एक दशक जति भयो व्यापक कटान गरिरहेको छ।’

पहिले पुल निर्माणका क्रममा निर्माण व्यवसायीका कारण नदीमा उत्खनन बढ्यो। अहिले नदीमा बालुवा झिक्ने स्थानीयका कारण कटान बढिरहेको छ। अहिले एकै व्यक्तिले न्यूनतम बालुवाका ५० ट्रलिसम्म ट्याक्टर निकाल्छन्।  

पहिले यो क्षेत्रमा कृषि मेला लाग्थ्यो। अहिले निरन्तर कटान भइरहेको छ। नजिकैका जोडिएको नवप्रभात आधारभूत विद्यालय जोखिममा छ। बालबालिकालाई पठनपाठन गराउन समेत त्रास हुने गरेको स्थानीय बताउँछन्।  

नदीले तीव्र कटान गरेपछि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले स्थलगत अवलोकन गरेका छन्। उनले नदीले कटान गरेको क्षेत्र र कटान गर्न सक्ने क्षेत्रको अनुगमन गरेका हुन्। सो क्रममा मन्त्री श्रेष्ठले नदी कटानले पुर्‍याएको क्षतिको बारेमा स्थानीय बासिन्दासँग जानकारी लिएका थिए।  

मन्त्री श्रेष्ठसँग स्थानीयले नदि कटान रोक्न पहल गरिदिन आग्रह गरेका थिए। उनीहरुले वर्सेनि भइरहेको नदी कटान रोक्दै सुरक्षित रुपमा बस्न र खेती गरेर जीविकोपार्जन गर्ने वातावरण बनाइदिन माग गरे। मन्त्री श्रेष्ठले नदी कटान रोक्नको लागि दिर्घकालिन योजना तर्जुमा हुनु पर्ने बताए। बर्षातले बाढी पहिरो आएको छ। यो महत्वपूर्ण धार्मिक स्थल पनि हो। प्रशस्त खेतीयोग्य जमिन छ। अहिले निरन्तरको कटानका कारण संकटमा पर्दैछ। 

उनले भने, ‘तत्काल राहत उपलब्ध गराउन पहल गर्छु। दिर्घकालिन समाधानका लागि निरीक्षणमा आएको हुँ। मन्त्रालय अन्तर्गतका कार्यालयहरुलाई नदी कटान रोक्न गर्नुपर्ने कामका विषयमा निर्देशन दिन्छु।’ कटान धेरै भइरहेकोले  डिपिआर बनाएर बहुवर्षीय योजना बनाएर लैजानु पर्नेमा जोड दिए।

एक बर्षातमा हुने योजनाले खासै प्रभाव पार्दैन। अर्को वर्ष त्यो भन्दा बढी क्षति गर्छ। बस्ती नै जोखिममा छ। टुक्रे र पट्के योजनाभन्दा पनि दिर्घकालिन योजना बनाउनुपर्छ। प्राविधिक ल्याएर डिटेल सर्भे गर्नुपर्छ। 'अनि मात्र नदी कटानको व्यवस्थापन होला', उनले भने, ‘सानोतिनो रकमले यहाँको समस्या समाधान नहुने भएकोले व्यवस्थित तरिकाले डिपिआर बनाएर अघि बढाउन प्रतिबद्ध छौँ।’

प्रकाशित: २८ भाद्र २०७८ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App