८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो, यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। जुम्लाको तिला गाउँपालिका ३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो। अहिले पनि पहिरो गएको क्षेत्रमा स–सानो पहिरो खसिरहेको छ। पहिरोले सडक पुरिएपछि विहानैदेखि यातायातका साधन रोकिएका छन्।  

जुम्लादेखि सुर्खेत-नेपालगंज र काठमाडौँ जाने लामो दूरीका सवारीसाधन अलपत्र परेका छन्। छोटो दूरीका यातायात पनि चल्न सकेका छैनन्। सिँजा गाउँपालिकाका गोल्डेन बुढाले पहिरो पन्छाउने कार्य हुन नसकेको बताए। उनले भने, ’प्रहरी पहिरो गएको क्षेत्रमा पुगेको भएपनि पन्छाउने कार्य सुरु भइसकेको छैन । डोजर मगाएकोले पहिरो पन्छाउन ढिलो भइरहेको छ।’

डोजर पुग्ने वित्तिकै पहिरो पन्छाउने कार्य सुरु हुने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए। अहिले जुम्लाबाट छुटेका सबै सवारीसाधन रोकिएका छन्। उनीहरुले छिटोभन्दा छिटो पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन माग गरेका छन्।  

राति साढे ४ बजेतिर सुख्खा पहिरो खसेको स्थानीय बताउँछन्। यसअघि पनि उक्त खण्डमा पहिरो खसेको थियो। पहिरो संभावित क्षेत्र पहिचान गरेर सडक खुलाउन डोजर तयारी अवस्थामा नराख्दा समस्या भइरहेको स्थानीय बताउँछन्। पहिरो खसिरहेकोले पैदल हिँड्न समेत रोक लगाइएको छ।  

कर्णाली राजमार्ग पहिरो खसिरहने सडक हो। त्यही भएर सडक खण्डको बीचबीचमा डोजर राखिनु पर्ने कर्णलीवासी पहिलेदेखिको माग हो। तर पहिरो गइरहेको छ। तर पहिरो पन्छाउन निकै ढिलासुस्ती हुने गरेको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँले भने,‘पहिरो गएको भन्ने सुन्नमा आएको छ। पहिरो कति ठूलो गएको छ देखिएको छैन। सडक डिभिजन कार्यालयलाई पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन भनिसकिएको छ। जतिसक्दो छिटो पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको छ।’

सडकमा पहिरो गएपछि यातायात सेवा ठप्प छन्। कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरोको न्युन संभावना भएको खण्ड हो। पहिरो गएपछि पन्छाउन पनि निकै सजिलो क्षेत्र हो। तर समयमै सरोकारवालाको पहल हुन नसक्दा दिनभर थन्किनु पर्ने अवस्था सिर्जना हुने गरेको जुम्लावासी बताउँछन्।

प्रकाशित: २६ भाद्र २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App