८ वैशाख २०८१ शनिबार
समाज

सकसमा ग्रामीण जीवन

केही दिन अघिबाट बिरामी परेका रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनलाई शुक्रबार गाउँको उपचारले नपुगेर सुनिलस्मृती गाउँपालिकाको सुलिचौर ल्याउनुपर्ने भयो। लामो समयदेखि अवरुद्ध सडक संचालनमा नआएका कारण आफन्तीको सहयोगमा स्टेचरमा राखेर तीन घण्टाको यात्रा पार गरेर अस्पताल ल्याई उपचार सुरु गरिएको छ।

गाउँपालिकाको केन्द्र पोवाङदेखि जैमाकशलासम्म गाडीमा ल्याइएका उनलाई त्यहाँबाट स्टेचरमा राखेर सुलिचौर पुर्याइएको हो। अध्यक्षजस्तै धेरै रोल्पाली यतिबेला स्टेचर वा डोकोमा बोकिएर अस्पताल जान विवश छन्।

यतिबेला जिल्लाका करिब–करिब सबै ठूला र साना सडकहरु अवरुद्ध छन्। स्थानीय तहको जिम्मामा रहेका ग्रामीण सडकमात्र नभएर केन्द्र र प्रदेश मातहतका सडक झनै अस्तव्यस्त छन्। जिल्लाको सबैभन्दा ठूलो योजना सहिदमार्ग गतिलोसँग संचालनमा नआएको महिनौ भयो भने सुलिचौर थवाङ सडक पनि बर्षात् सुरु भएदेखि नै बन्द छ। ‘पानी परेदेखि सडक अवरुद्ध छ। ठेकेदारलाई पहिरो पन्छाएर सडक क्लियर गर्न भनेका छौं, अब केही दिनमै संचालनमा आउँछ।’ सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक खड्काले बताए।

केन्द्र र प्रदेश सरकारका मातहतमा रहेका यी दुवै लगायतका सडक ठेकेदारको जिम्मा दिएपछि कार्यालय जिम्मेवारीबाट फुत्किएजस्तो हाइसन्चो मानेर बस्ने गरेका कारण पनि स्थानीयले सास्ती भोग्नु परेको हो। ‘हामीले पनि पटक–पटक पहिरो फालेर सडक बनायौं तर सडक कार्यालयले कुनै वास्ता नै गरेको छैन।’ सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुन भन्छन्। केही दिनअघि गाउँपालिकाको डोजर भिरबाट तलखोलामा खसेपछि गाउँपालिकाले कुनै पनि सडक सफा गर्न पाएको छैन।  

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी पनि सडक बन्द भएपछि समस्या आएको बताउँछन्। ‘करिब सबै भित्री सडक बन्द छन्। प्रहरीलाई गस्तीमा ठूलो समस्या छ। विपद् आया,े घटना घट्यो उद्दारका लागि पनि कठिन छ। प्रहरी तत्काल परिचालका लागि साह्रै सकस परेको छ।’ सडकका कारण सुरक्षामा समेत चुनौती थपिएको उनको भनाइ छ। रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द तिनबटै सरकार गैर जिम्मेवार भएका कारण नागरिकले सास्ती भोग्नु परेको बताउँछन्। 

‘सानो सानो पहिरो गयो भने पनि एउटा तहको मातहतमा रहेको सडक अर्को तहले सफा गर्दैन।’ चन्द भन्छन्, ‘यिनिहरुलाई आफ्नो स्वामित्व थाहा छैन भने गैर जिम्मेवार पनि उत्तिकै छन्। अहिले दाङ भालुवाङ हुँदै सदरमुकाम जोड्ने सडक र सहिदमार्गको केही भागबाहेक अन्य सबै सडक बन्दप्रायः छन्।

स्थानीय प्रशासनको अनुगमन नहुनु पनि सडक नखुल्नुको एउटा मुख्य कारण भएको स्थानीयको आरोप छ। ‘स्थानीय प्रसाशनजस्तै स्थानीय तह पनि गैर जिम्मेवार देखिएको छ। सडक कार्यालयहरु झनै निदाएका जस्ता छन्। जनसरोकारमा आवाज उठाउनु पर्ने नागरिक समाज पनि निदाएको छ।’ नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर भन्छन्, ‘यतिबेला जिल्लाका प्रायः सबै सडक बन्द छन्, तर सरोकारवालाले ध्यान दिएका छैनन्।’

प्रकाशित: २५ भाद्र २०७८ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App