coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

महासंघद्वारा गठित मिडिया मिसन टोलीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मन्त्रीको बलात्कारसम्बन्धी समाचार लेख्ने नागरिककर्मी नगेन्द्र उपाध्याय र अन्नपूर्णकर्मी विष्णु न्यौपानेको सुरक्षालाई विशेष ख्याल गर्न, प्रेस स्वतन्त्रताविरोधी घटनाका दोषिमाथि आवश्यक कारबाही र निगरानी गर्न तथा आगामी दिनमा सामाजिक सञ्जालका साथै अन्य माध्यमबाट डर, धम्की, त्रास उत्पन्न हुने हर्कत नगर्न र पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार लेख्ने वातावरण बनाउन सरोकारवालालाई सुझावसहित माग गरिएको छ।

 महासंघको मिडिया मिसनले पत्रकार आचारसंहिताभित्र रहेर तथ्य र प्रमाणका आधारमा समाचार लेखिएको उल्लेख छ। ‘समाचारमा तत्कालीन अवस्थामा पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समाचारमा पत्रकार आचारसंहिता उलंघन भएको देखिँदैन, तर महिला स्वयंले सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान सार्वजनिक गरेर आफैंमाथि खेलवाड गरेकी छन्।’

मिसन टोलीले पीडित भनिएको पक्ष र पीडक भनिएको पक्ष एकैठाउँमा पुग्दा समाचार लेख्ने पत्रकारमाथि थप सुरक्षा जोखिम देखिएको उल्लेख गरेको छ। ‘बलात्कार भएको भनिएको भिडियो र सो भिडियोलाई लिएर न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा पुगेको सूचनाको आधारमा समाचार लेखेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीको भनाइले महिला र उनका श्रीमान् उक्त भिडियोसहित कानुनी उपचारका लागि आएको देखिन्छ।’ महासंघले मन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार महासंघ कालिकोट शाखाका सदस्य नन्दकेश अधिकारीमाथि महासंघको विधानअनुसार आवश्यक छानबिन प्रक्रिया सुरु गर्न सुझाव पनि दिएको छ।

अधिकारीले सामाजिक सञ्जालमार्फत मन्त्रीको बलात्कारसम्बन्धी समाचार लेख्ने पत्रकारलाई ज्यानमर्ने धम्की दिएका थिए। उनले नागरिककर्मी उपाध्यायलाई ‘कलमको टुप्पोले होइन, खुकुरीको टुप्पोले शरीर खोलामा, टाउको झोलामा’ भन्दै धम्की दिएका थिए।  

मन्त्रीले महिलामाथि बलात्कार गरेको समाचार प्रकाशित भएसँगै निरन्तर आक्रमणको धम्कीसँगै घर तथा अफिसमा तोडफोड हुन थालेपछि पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दीपेन्द्र शर्मा रहेको मिडिया मिसन टोली गठन गरेको थियो।

मिसन टोलीले पत्रकारद्वयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही, महासंघको प्रदेश तथा जिल्ला कार्यसमिति, आरोपित मन्त्री शाही, प्रमुख जिल्ला अधिकारी छवी रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, राष्ट्रिय अनुसन्धान सुर्खेतका प्रमुख जयेन्द्र उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेशबहादुर ऐरलगायतसँग भेटेकाे थियाे।

प्रकाशित: २४ भाद्र २०७८ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App