८ वैशाख २०८१ शनिबार
समाज

जलहरी घोटालामा अख्तियारको छानबिन सुरु

पशुपति क्षेत्र विकास कोषमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ। महालेखा परीक्षकको ५८औं प्रतिवेदनले पनि पशुपति क्षेत्रमा अनियमितता भएको जनाई दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ।  

पशुपतिको शिवलिंगमा सुनको जलहरी लगाउँदा अनियमितता भएको उजुरीमा आधारित भएर अख्तियारले कोषका पदाधिकारीसँग बयान लिन सुरु गरेको छ। शवदाह मेसिन खरिद तथा गुह्येश्वरी मन्दिरभित्रको मूर्ति मर्मतमा पनि अनियमितता भएको उजुरी अख्तियारमा परेको छ। महालेखाको प्रतिवेदनमा गुह्येश्वरी मन्दिरमा मूर्ति मर्मतमा प्रयोग गरिएको सुनमध्ये १ सय ७४ दशमलब ५ तोलाको अवस्था अपारदर्शी देखिएको उल्लेख छ ।

स्रोतका अनुसार अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापा र पूर्वसदस्यसचिव प्रदीप ढकालसँग बयान लिन सुरु गरेको छ। थापा यसअघि कोषको कोषाध्यक्ष थिए। सरकारले केही दिनअघि मात्रै थापालाई सदस्यसचिवमा नियुक्त गरेको हो। यसअघिका सदस्यसचिव ढकालको साउन मसान्तमा पदावधि सकिएपछि थापालाई नियुक्त गरिएको हो। अख्तियार स्रोतका अनुसार कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग पनि बयान लिइएको छ। कोषको निर्णय प्रक्रियामा ढकाल, थापा र खतिवडाको भूमिका हुन्छ।  

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भएको अनियमितताबारे अनुसन्धान प्रक्रिया अघि बढेको बताए। कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको छ।  

गत फागुन ११ गते साँझ ५ बजे पशुपतिको शिवलिंगमा जलहरी लगाउने काम सकिएको जनाइयो। त्यसै दिन राति ८ बजे मुचुल्का तयार गरियो। मुचुल्कामा जलहरीमा ९७ केजी मात्र सुन खपत भएको र बाँकी ११ केजी सुनको रिङ बनाइएको जनाइयो। शिवलिंगमा जलहरी लगाउने काम पूरा भएको भनिएको ३ घण्टामै ११ केजी सुनको रिङ कसरी तयार गरियो भन्ने प्रश्न उठेको छ। 

यही प्रश्नमा केन्द्रित रहेर अख्तियारले अनुसन्धान अघि बढाएको छ। ३ घण्टामै ११ केजी सुनको रिङ बन्यो भन्ने दाबी पत्याउन सकिने आधार नभएको अख्तियारका अधिकारीहरूको भनाइ छ।  

गत फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरीको उद्घाटन गरेकी थिइन्। त्यस अवसरमा १ सय ८ केजी सुनको जलहरी लगाइएको घोषणा गरिएको थियो। उद्घाटन कार्यक्रम पनि एकाएक तय गरिएको थियो। फागुन ११ गते साँझ एकाएक उद्घाटन कार्यक्रम तय गर्न कोषका केही व्यक्तिले गुपचुप काम गरेका थिए। 

कोषले पशुपतिको शिवलिंगमा सुनको जलहरी लगाउनुअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक अर्ब रुपैयाँ बराबरको जलहरी शिवलिंगमा लगाइने घोषणा गरेका थिए। प्रधानमन्त्रीको भाषणपछि शिवलिंंगमा सुनको जलहरी लगाउने निर्णय कोषका पदाधिकारीले गरेका थिए ।

प्रकाशित: २३ भाद्र २०७८ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App