coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१४ वर्षीया बालिका बलात्कार आरोपमा नौ पक्राउ

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी एक बालिका असार यता पटक–पटक बलात्कारको सिकार भएको पाइएको छ। साउन पाँच गते यता १४ वर्षीया बालिकालाई नौ जनाले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पछिल्लो समय भदौ १५ गते तीन जनाबाट सामुहिक बलात्कृत भएपछि बालिका प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

‘सामुहिक बलात्कारपछि बालिका आफै प्रहरीको सम्पर्कमा आएकी थिइन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘अनुसन्धानका क्रममा सामुहिक र अन्य समयमा बलात्कार गर्ने नौ जनालाई पक्राउ गर्न सफल भयौं।’ प्रहरीका अनुसार बालिका अर्को पालिकाकी हुन्। उनका बुवा छैनन्। आमाले अर्को विवाह गरेकी छन्। सुरुमा मामाघरमा बस्दै आएकी उनी माइजुसँगको विवादपछि घर छोडेर पञ्चपुरी पुगेकी थिइन्।

पञ्चपुरीको बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै दैनिकी गुजारा चलाउने उनी असार पाँच गते स्थानीय प्रेम शाहीबाट बलात्कृत भइन्। उनी बस काउण्टरमा काम गर्ने कर्मचारी हुन्। त्यसपछि प्रेमसँगै उनका साथीहरुबाट पनि बालिका बलात्कारको सिकार भइन्। प्रेमका साथीहरु ओमबहादुर दर्लामी, शोभा शाही भनिने खगेन्द्र शाही, डम्वर वादी, बाबुराम पुरी, गणेश वादीलगायतले पनि बलात्कार गरेको पीडित बालिकाले बताएकी छन्।

पछिल्लो समय भदौ १५ गते उनी बेल्ुका सात बजेतिर सामुहिक बलात्कारको सिकार भइन्। बजार नजिकैको जंगलमा पुर्याएर स्थानीय ३० वर्षीय तेजबहादुर सार्की, ३४ वर्षीय प्रेम बुढाथोकी र ३५ वर्षीय युवराज शाहीले सामुहिक बलात्कार गरे। ‘बालिकालाई आफूमाथि बलात्कार गर्नेहरुको नाम, ठेगाना थाहा थिएन्,’ प्रहरी निरीक्षक शाहीले भने, ‘उनले दिएको हुलियाको आधारमा सामुहिक बलात्कारमा संलग्नहरुलाई पक्राउ गर्न सफल भयौं।’  

सामुहिक बलात्कारमा संलग्नको खोजी गर्नेक्रममा पक्राउ परेकाहर मध्येबाट थप पाँच जनाले पटक फरक–फरक मितिमा आफूमाथि बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी थिइन्।

‘पक्राउ परेका अधिकांस बसका चालक, सहचालक, बस काउण्डरमा टिकट काट्ने कर्मचारीलगायत हुन्,’ उनले भने, ‘प्रारम्भिक बयानमा उनीहरुले अपराध स्वीकार गरेका छन्।’ प्रहरीका अनुसार मामाघर छोडेर हिँडेकी बालिकालाई पैसा र खानेकुराको प्रलोभन दिएर बलात्कार गरेको पाइएको छ।

बालिका गर्भवती !

आफूमाथि सामुहिक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौर पुगेकी बालिकालाई प्रहरीले एक अधिकारवादी संस्थाको जिम्मामा राखेको छ। उक्त संस्थाले गरेको स्वास्थ्य परीक्षणमा बालिका गर्भवती छिन्। प्रहरीले भने बालिकाको स्वास्थ्य परीक्षण गरेको छैन्। ‘बुधबार बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘अहिले बालिका एक अधिकारवादी संस्थाको संरक्षणमा छिन्।’  

प्रकाशित: २२ भाद्र २०७८ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App