coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीमा डल्फिनको संख्या बढ्यो

पथरैया नदीमा देखिएको डल्फिन। फाइल तस्बिर: नागरिक

कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।  

संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको छ। संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको बताए। संस्थाले भदौ १८ र १९ गते गणना गरेको थियो।  

उनका अनुसार सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा देखिएका छन। ‘एकै पटक १५ वटासम्म डल्फिन देखिएका छन’ उनले भने–‘विगतको तुलनामा संख्या बढेको छ।’

उनले यसअघि २०७३ र २०७५ मा समेत डल्फिनको आधिकारिक गणना भएको बताए। उनले २०७३ मा ६५ रहेको डल्फिनको संख्या २०७५ मा ५५ मात्रै गणना भएको जानकारी दिए। उनले २०७४, २०७६ र २०७७ मा समेत स्थानीयले डल्फिन गणना गरेको भएपनि त्यसलाई आधिकारिक नमानेको बताए।  

‘हामीले गणना त हरेक वर्ष गर्छौ तर आधिकारिक रुपमा यो वर्ष सहित तीन वर्ष मात्रै भएको छ’ उनले भने–‘स्थानीयले गणना गरेको वर्षहरुमा पनि डल्फिनको संख्या यतिधेरै थिएन।’ उनले डल्फिन गणनामा डा. मुकेश चालिसे अध्यक्ष रहेको नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको बताए। उनले डल्फिन गणनाको आधिकारिक तथ्याङ्क भने समाजले नै सार्वजनिक गर्ने जानकारी दिए।  

मान्छे पछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा हुर्काउन कैलालीको दक्षिणी क्षेत्रमा आउने गर्छ। यो वर्ष डल्फिन पहिलो पटक असार १ गते मोहना र पथरैया नदीको दोभान नजिकै देखिएको थियो।  

टीकापुर र भजनी नगरपालिकाका बासिन्दा विगत लामो समयदेखी डल्फिन संरक्षणमा आफै जुटेका छन। उनीहरु स्वस्फूर्त रुपमा डल्फिनको संरक्षण गर्दै आएका छन। स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन भने समुदायमा ३ वटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन। डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ६० हजार स्थानीय सकृय छन।  

स्थानीयकै पहलमा २०५६ बाट डल्फिन संरक्षण भैरहेको छ। पहिलो पटक भोजराज श्रेष्ठ अर्थात गुलेली बाजेले डल्फिन संरक्षणको अभियान थालेका हुन। उनलाई अमेरीकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाए पछि यस्तो पहल थालेका हुन। त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे। कहिले काँही स्थानीयले समेत मार्थे। माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए। त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन। स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ। 

प्रकाशित: २२ भाद्र २०७८ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App