coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भेरी अस्पतालका नर्सले संक्रमित महिलालाई खुवाए तीजको दर

भेरी अस्पतालको कोभिड वार्डमा संक्रमित महिलालाई तीजको कोशेलीसहित दर खुवाउँदै नर्सहरु । तस्बिर : अर्जुन/नागरिक

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) नजिक आईरहेको छ। तीजको पूर्वसन्ध्यामा अचेल नेपालगन्जका कटेज तथा रेष्टुरेन्टमा दर खाने कार्यक्रम दिनहुँजसो भईरहेका छन्। कोरोना भाइरस(कोभिड–१९) महामारीबाट संक्रमित भएका महिलाका लागि यसपटकको तीज खल्लो हुने निश्चित छ। भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका संक्रमित महिलाले भने तीजमा खल्लो महसुस नै गरेनन्।  

नजिकिँदै गरेको तीजको अवसरमा भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सहरु मिलेर बिरामी (संक्रमित) महिलासँग तीज मनाएका छन्। अस्पतालको कोभिड वार्डमै पुगेर नर्सले संक्रमित महिलालाई चुरा र टिकुली प्रदान गर्नुका साथै विभिन्न परिकारका तीजको दर खुवाएका हुन्। अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार वार्डमा भर्ना भएका करिव २३ जना संक्रमित महिलालाई तीजको कोशेली चुरा र टिकुली प्रदान गर्नुका साथै दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएका थिए।  

महिलाको महान पर्व हरितालिका तीज नजिक आइरहेका बेला बाहिर रौनकता छाएपनि कोभिड वार्डमा भर्ना भएका महिला मृत्युसँग लड्नु परिरहेको अवस्थामा अलिकति भएपनि पीडा कम होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको यहाँका नर्सहरु बताउँछन्।  

‘तीज नजिक आइरहेको छ, रमाईलो पनि भइरहेको छ, तर बिरामी भएर आउनु भएका दिदीबहिनीलाई मनमा कति पीडा हुन्छ, त्यही भएर उहाँहरुलाई पनि तीज मनाएको अनुभूति होस् भनेर हामीले सानो आर्थिक जुटाएर यो कार्यक्रम गरेका हौं,’ नर्सिङ अधिकृत अर्यालले भनिन्। अस्पतालको कोभिड वार्डमा भर्ना कतिपय संक्रमितले निको भएर घर फर्किंदा दिनरात सेवा गरेका नर्सलाई केही आर्थिक सहयोग गरेका थिए। सोही रकमलाई आफूहरुले पनि थपेर कोभिड वार्डमै भर्ना भएका संक्रमित महिलालाई तीजको कोशेली र दर खुवाउने कार्यक्रम राख्ने योजना बनेको उनले सुनाईन्।  

दिनरात आफ्नो सेवामा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिँदा र दर खुवाउँदा अधिकांस संक्रमित महिला हर्षित थिए। अस्पतालमा भर्ना भएपनि तीजको कोशेली र दर खान पाउँदा माईती कहाँ गएको जस्तो अनुभूति मिलेको एक संक्रमितले बताईन्।  

‘कोरोना संक्रमणको पीडा त मनमा थियो नै, वर्षमा एक पटक आएको तीज मनाउन नपाउँदा मन साह्रै दुःखी भएको थियो, तर जसरी अस्पतालका नर्सले हामीलाई तीजको कोशेली प्रदान गर्नुभयो र दर खुवाउनु भयो, यो हाम्रा लागि अविष्मरणीय नै बन्यो,’ उनले भनिन्।

अस्पतालको कोभिड वार्डमा सोमबार दिउँसोसम्म करिव ४५ जना जति संक्रमित भर्ना छन्। त्यसमध्ये आधा जति महिला संक्रमित रहेको भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिईन्। महामारी पूर्ण रुपमा नियन्त्रणमा नआउँदा अस्पतालमा संक्रमितहरु भर्ना हुने क्रम चलिरहेको उनले बताईन्। बिरामीको सेवा गर्ने पेशा भएकाले चाँडपर्वलाई पनि नर्सले बिरामीसँगै मनाउनुपर्ने परम्परादेखि चल्दै आएको श्रेष्ठको भनाई छ।

प्रकाशित: २१ भाद्र २०७८ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App