७ वैशाख २०८१ शुक्रबार
समाज

हिरासतमा बन्दीलाई कुटेर मारेको आरोप, आफन्तद्वारा विराटनगरमा प्रदर्शन

जिल्ला प्रशासन कार्यालय मोरङ नजिक प्रर्शन गर्दै आफन्तहरू। तस्बिर: नागरिक

प्रहरी हिरासतमा मृत्यु भएका विराटनगर-११ का भीम कामतका आफन्तले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन्। आइतबार प्रहरी हिरासतमा मृत्यु भएका कामतका आफन्तले प्रहरीले कुटेर मारेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।  

मृतकका भाइ वीरेन्द्र कामतले मृतकको दुबै खुट्टामा डोरीले बाँधेको डाम देखिएका कारण प्रहरीको कुटाइबाटै दाजुको मृत्यु भएको दाबी गरे। उनले भने ‘हिरासतमा राखिएको मानिसको दुबै खुट्टामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले बाँधेर कुट्टा दाजुको मृत्यु भएको हो।’ न्यायिक छानविन गरी दोषीलाई कार्वाही गर्न  माग गर्दै आफूहरूले  आन्दोलन गरेको आफन्तहरूले बताएका छन्। 

सोमबार प्रदर्शन कारीहरूले जिल्ला प्रशासन कार्यालय नजिक नारावाजी गर्दै  टायर  बालेर प्रदर्शन गरेका हुन्।  सडकमा टायर बालेर प्रदर्शन गरिएका कारण जिल्ला प्रशासनकार्यालय छेउको सडकमा सवारी आवागमनसमेत अबरुद्ध भएको थियो। गत शुक्रबार गाँजासहित पक्राउ परेका  विराटनगर –११ का ३७ वर्षीय भीम कामतलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो।  उनको आइतबार मृत्यु भएको हो। 

कामतबिरुद्ध मोरङ प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्धा चालाउन म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको वेला एक्कासी वेहोस भएर कामत लडेको मोरङ प्रहरीले जनाएको छ। उपचारका क्रममा कोसी अस्पतालगिएका  कामतको उपचारका क्रममा अस्पतालमै  मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्धन जीसीले बताए।  

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन

यसैबीच मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा छानविन समिति गठन गरिएको छ। समितिमा प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएस्पी, विराटनगर वडानम्बर ११ र १२ का वडाअध्यक्ष र मृतक कामतका छिमेकी एक जनासहित ५ सदस्यीय छानविन समिति गठन गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।  

उनका अनुसार मृतकका आफन्तसँगको छलफल पछि आफन्तहरूको माग अनुसार छानविन समिति गठन गरिएको हो। यस्तै मृतकका परिवारलाई आर्थिक सहायताका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि  गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

प्रकाशित: २१ भाद्र २०७८ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App