७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कार आरोपी मन्त्री भन्छन्: पाँच करोडको योजना नदिँदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरियो

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले पाँच करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन्। उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका श्रीमानले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन्।

‘मन्त्रीमाथि बलात्कार आरोप’ शीर्षकमा समाचार प्रकाशित भएपछि कृषि मन्त्री शाहीले पीडित पक्षलाई विभिन्न आरोप लगाएका हुन्। कृषि मन्त्री शाहीले पीडित युवतीका श्रीमानले विभिन्न व्यक्तिहरुबाट कमिसन लिएको, एक गाउँपालिकाका उपाध्यक्षसँग आफ्नो सम्वन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै अपहरण गरेकोलगायतका आरोप लगाएका छन्। मन्त्री शाहीको पीडित पक्षलाई विभिन्न आरोप लगाएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

‘आफू मन्त्री भएपछि पीडित महिलाका श्रीमानले पाँच करोडको योजना मागेको थियो, योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरियो,’ मन्त्रीको अडियो रेकर्डमा भनिएको छ, ‘स्वकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो।’

मन्त्री शाहीले पीडित महिलाका श्रीमानले विभिन्न व्यक्तिहरुबाट झण्डै ५० लाख रुपैयाँ नगद लिएको दावी गरेका छन्। उनले अडियोमा भनेअनुसार कालीकोटको शुभकालिका गाउँपालिका–६ का वीरेन्द्र आचार्यबाट कृषि भवनको योजना पारिदिने भन्दै पाँच लाख रुपैयाँ लिएको, सोही वडाका माओवादी नेता दर्शन भनिनेबाट छ लाख रुपैयाँ लिएको, शुभकालिका गाउँपालिका–६ हाउडीको सडक सर्भे गरेवापत नौ लाख रुपैयाँ लिएको उल्लेख छ।

यस्तै शुभकालिका गाउँपालिका–८ मा माछापोखरीको योजनाबाट छ लाख लिएर मोटरसाईकल किनेको, सुकाटीयाँ गाविसका पूर्व उपाध्यक्ष लालु उपाध्यायबाट दुई लाख ५० हजार रुपैयाँ लिएको, माओवादी नेता एमस्टारबाट योजना पारिदिने भन्दै दुई लाख लिएको, तिलागुफा नगरपालिकाका धर्मराज शाहीबाट छ लाख, तिलागुफा नगरपालिका–१ का हस्त शाहीबाट २० लाखको योजना पारेर पाँच लाख लिएको, खाँडाचक्र नगरपालिका–११ का मिनबहादुर गिरीबाट एक लाख, हुम्लाका विभिन्न १० वटा योजनाबाट १–१ लाखका दरले १० लाख रुपैयाँ पीडित भनिएकी महिलाका श्रीमानले घुस लिएको आरोप मन्त्री शाहीले लगाएका छन्। मन्त्री शाहीले पीडित भनिएकी महिलाका श्रीमानले पैसा लिएकोबारे बाहिर सार्वजनिक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाका विषयमा चासो लिने पनि बताएका छन्।

मन्त्री शाहीले पीडित भनिएकी महिलाका श्रीमानलाई आफ्नो छोरा अपहरणको पनि गम्भीर आरोप लगाएका छन्। अडियोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित उषा बालबाटिका माविमा अध्ययनरत आफ्नो छोरालाई पीडित महिलाका श्रीमानले अपहरण गरेको आरोप लगाइएको छ। यस्तै मन्त्री शाहीले पीडित महिलाका श्रीमानले एक गाउँपालिकाका उपाध्यक्षसँग आफूलाई जोडेर अनैतिक सम्वन्धको आरोप लगाएको आरोप पनि लगाएका छन्। उनले गाउँपालिकाका उपाध्यक्षसँगको सम्वन्धमा ‘देउता छुन’ बाध्य पारेको पनि बताएका छन्।

दुई वर्षमा ढाई करोडको योजना

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकेश अधिकारीले पनि मन्त्री हुनुअघिका दुई वर्षसम्म बलात्कारको भिडियो देखाउँदै दुई करोड ५० बढीको योजनाहरु पीडित भनिएकी महिलाका श्रीमानले वितरण गरेको आरोप लगाएका छन्। उनले नागरिकसँग कुरा गर्दै बलात्कार पीडित महिलाका श्रीमानले माछापालनवापत २५ लाख रुपैयाँ लिएको पनि बताएका छन्। अधिकारीले सांसद विकास कोषमार्फत निर्वाचन क्षेत्रमा परेका योजनाहरुबाट २० देखि ३० प्रतिशतसम्म कमिसन लिएको पनि आरोप लगाएका छन्।

प्रकाशित: १८ भाद्र २०७८ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App