coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक

पहिरोको जोखिममा रहेको भिमाद नगरपालिका–६ कुमारचोकको वस्ती । तस्बिर ः विनोद ढुंगाना÷नागरिक

भिमाद बजारस्थित कुमारचोक वर्षेनीको वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस्ने हो भन्ने त्रास त्यहाँका बासिन्दालाई सधैं छ । अझ वर्षायाम लागेपछि त स्थानीयको होसहवास नै उड्छ ।  

खोला किनारको छाँगोमा अडेको त्यो बस्ती निरन्तरको बर्षाले पहिरोको जोखिममा छ । जोखिममा भएपनि गाउँलेले त्यहाँ बसोबास भने छाड्न सकेका छैनन । गत मंगलबार विहान पहिरो खस्दा यहाँका एकदर्जन घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । ती घरको बीच भागसम्म पहिरो आएको छ ।

घरसँगै पहिरो जोडिएपछि बस्ने अवस्था नभएकाले कति त डेरा सरेका छन् । डेरा सर्न नसक्नेहरु जोखिम मोलेर भगवान भरोसामा बसिरहेका छन् । झरिले कमजोर बनेको जमिनमा सवारीको भारले पहिरो खस्ने डर भएपछि यहाँको मुल सडकमा अहिले सवारी आवागमन रोकिएको छ ।  २०५२ सालदेखी कुमारचोकको जमिन पहिरो खसेर सेतीमा मिसिन थालेको हो । पहिला सेतीको पानीको वहावले पहिरो खस्ने गरेको थियो । अहिले नदीको वहावले भन्दा आकाशबाट बर्सिने पानीले पहिरो झार्ने गरेको स्थानीय बताउँछन् ।  

बस्ती बस्दाताका कुमारचोकमा बनेका घर र सेती नदीको डिलबिच झण्डै १५ मिटर दुरी भएकोमा अहिले घरसंगै पहिरोले बस्ती छोएको छ । यहाँका ४१ घर उच्च जोखिममा छन् । कुन बेला पहिरो खसेर घर सेतीमा मिसिन्छ पत्तो छैन् । ‘घरको पछाडी तरकारी लगाउने ठाउँ समेत थियो । पहिरो खस्दा खस्दा अहिले त शौचालय पनि छैन्’, स्थानीय माया हिराचनले बताईन् । 

जोखिम भएपछि दिनभर व्यापार गर्न आउने र रातमा बास बस्न अन्तै जाने उनले बताईन् ।  दिउँसोमा पनि जोखिम मोलेर व्यापार गर्नुपरेको उनको भनाई छ । ‘अन्त व्यापार गर्ने ठाउँ छैन् । जोखिम मोलेर भएपनि व्यापार गनुर््पर्ने बाध्यता हो,’ हिराचनले भनिन् ।  बर्षा हुन  आकाशमा बादल मडारिन थालेपछि चिन्ता थपिने उनको भनाई छ ।  

बेलामै वृहत तटबन्धन बनाइदिएको भए अहिले पुरै वस्ती जोखिममा नपर्ने पहिरो पीडित प्रकाश कलकल बताउँछन् । ‘पहिला तलबाट उठाएर तटबन्धन बनाएपछि त्रास हुँदैन भनेर भयिो । तर भने जसो कसैले गरेनन । तटबन्द बनाइदिएको भए केही सुरक्षित अनुभव हुन्थ्यो,’ उनले भने, ‘तटबन्द बनाउन वर्षेनी बजेट आएको सुनिन्छ । तर, काम कहिल्यै हुँदैन । अहिले सरकारले वास्तै गर्न छाड्यो ।’  

नदी कटान र पहिरो रोक्लाई बर्षेनी वडा र नगरले बजेट विनियोजन गरिरहेको भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । ‘थोरै बजेटले काम गर्दा हात्तीको मुखमा जिरा भएको छ,’ उनले भने, ‘संघ र प्रदेशले चासो नदिएसम्म हुदैन् ।’ वडाध्यक्ष जोशीका अनुसार गतबर्ष भिमाद नगरपालिकाले पाँचलाख रुपैयाँ खर्च गरेर तटबन्धनको डिपिआर बनाएको थियो । प्रदेश सरकारले एककरोड रुपैयाँ र संघीय सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन पनि गरेका थिए । तर, काम सुरु नहुँदा बजेट फ्रिज भएर गएको उनले जानकारी दिए ।  

डिपिआर अनुसार नदी तटबन्धनको काम जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँले गर्नेछ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धन गर्न १७ करोड रुपैयाँको डिपिआर तयार भएको हो । डिपिआर स्वीकृतिका लागि गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयलाई पठाएको कार्यालयकी प्रमुख सिनियर डिभिजन इञ्जिनियर दिपा गौतमले बताइन् ।  

जिल्लामा रहेको कार्यालयको भन्दा एउटै योजनालाई धेरै बजेट आवश्यक भएपछि डिपिआर मन्त्रालयमै विचारधिन रहेको उनको भनाई छ । ‘यदि संघीय सरकारले बजेट दिएको खण्डमा हामी तुरुन्तै काम थाल्छौ,’ उनको दाबी छ ।  चालु आर्थिक बर्षमा कुमारचोकमा सेती नदी तटबन्धनका लागी संघीय सरकारले ३० लाख रुपैयाँ र प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको गौतमले जानकारी दिईन् ।  

प्रकाशित: १६ भाद्र २०७८ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App