८ कार्तिक २०७८ सोमबार
समाज

अस्ताए साहित्यकार आनन्ददेव भट्ट

साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय निमोनियाबाट ग्रसित उनको सोमबार राजधानीको कालिकास्थानस्थित निवासमा निधन भएको जानकारी प्रगतिशील लेखक संघ (प्रलेज)का अध्यक्ष जीवेन्द्रदेव गिरीले दिएका थिए।

‘उहाँले २०४६ र २०६२/६३ को जनआन्दोलनमा लेखकहरूको मोर्चाको नेतृत्व गर्नुभएको थियो,’ उनले भने, ‘जनताको लागि प्रगतिशील आन्दोलनमा उभिनुभएको थियो। नेपाली समालोचना र बौद्धिक लेखनीमा उहाँको योगदान महत्वपूर्ण रहेको छ।’ त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तक समेत हुन्। उनी प्रलेजका पूर्वअध्यक्षसमेत हुन्।

विसं. १९९३ असोज २५ गते जुम्लाको खलंगामा जन्मिएका साहित्यकार भट्टको पुख्र्यौली घर बैतडीको पल्लाचौडलीमा भएकाले उनले विसं.२०४८ सालदेखि त्यहाँ राजनीतिसमेत गरेका थिए। विसं. २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा (एमाले)बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए।

प्रारम्भिक शिक्षा जुम्लामा पूरा गरेका उनले कक्षा छदेखि आठसम्म पद्मोदय पब्लिक हाइस्कुल तानसेन, पाल्पामा पढेका थिए। त्यसबेलादेखि साहित्यबाट प्रभावित उनले विसं. २००८ सालमा ‘चारतारे झण्डा’ शीर्षकको कविता लेखेका थिए। विसं. २००९ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि उनी पार्टीको बैतडी जिल्ला र सेती अञ्चल सचिव भएका थिए। साहित्य र कम्युनिस्ट आन्दोलनमा लागेका उनको रचनाहरू विसं. २०१३ सालदेखि ‘इन्द्रेणी’ पत्रिकामा प्रकाशित हुन थालेका थिए।

विसं. २०१५ मा उनको लोकप्रिय खण्डकाव्य ‘९७ साल’ प्रकाशित भएको थियो। त्यसयता साहित्यकार भट्ट छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय भएर काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायत विधाका झन्डै तीन दर्जन कृति प्रकाशित गरेका थिए। उनका ‘९७ साल’, ‘गुराँस’, ‘साइँली मैयाँ’, ‘आमा बोलाउँछिन्’, ‘जोवनकै थुम्कोबाट’, ‘समालोचनाको बाटोतिर’, ‘व्यावहारिक समालोचना’, ‘जनताको साहित्य’, ‘जगतको सृष्टि र सञ्चालन प्रक्रिया’, ‘हाम्रा प्रतिभाहरू’, ‘प्रतिभा पहिचान’ र ‘स्वतन्त्रता र कम्युनिस्टहरू’ कृति प्रकाशित छन्। उनले अंग्रेजी भाषाका विभिन्न कृतिलाई नेपाली अनुवादसमेत गरेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरान, धनकुटा, चितवन र अंग्रेजी केन्द्रीय विभागमा गरी झन्डै ३५ वर्ष प्राध्यापन गरेका थिए। विसं. २०५० सालमा उनले सहप्राध्यापक पदबाट राजीनामा दिएर त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशकको जिम्मेवारी पाएका थिए। विगत चार वर्षदेखि अल्जाइमर रोगबाट पीडित उनी शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी थिए। प्रायः प्रगतिशील साहित्यिक गोष्ठी तथा सम्मेलनमा उनी सहभागी हुन्थे। 

विसं. २०७६ फागुन २४ गते ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरिएको थियो। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहित्यकार भट्टको निधनमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका थिए, ‘देशको सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुखी छु। नेपाली साहित्यका अविराम साधक वरिष्ठ साहित्यकार भट्टको निधन प्रगतिशील क्षेत्रमा ठूलो क्षति हो।’

विसं. २०४६ सालको जनआन्दोलनमा लेखक तथा साहित्यकार नेतृत्व गरेर पञ्चायती शासन व्यवस्थाविरुद्व आवाज बुलन्द गरेका थिए। ‘उहाँ त्रिविको अंग्रेजीका प्राध्यापकदेखि नेपाली भाषा, साहित्यका स्रष्टा, समालोचक, चिन्तक र राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले भने, ‘विसं. २०४८ सालपछि कम्युनिस्ट आन्दोलनमा संलग्न रहेर उहाँले कलम चलाउनु भएको थियो।’ उनका अनुसार प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका भट्टको योगदानलाई लिएर ‘अभिनन्दन ग्रन्थ’ प्रकाशोन्मुख रहेको थियो। सोमबार पशुपति आर्यघाटमा श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि गरिएको थियो। उनका श्रीमती सुशीला भट्ट र दुई छोरा छन्।

प्रकाशित: १५ भाद्र २०७८ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App