८ वैशाख २०८१ शनिबार
समाज

बाढीपहिरोमा परी तीनको मृत्यु, दुईजना बेपत्ता

दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर भट्टले जानकारी दिए।  

राती सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो। यस्तै दुहु गाउँपालिकाको–५ दुल्लाका मनुवा डडालको पनि मृत्यु भएको छ।  

कालागाड खोलामा आएको बाढीले घरसहित बगाउँदा डडालको मृत्यु भएको डिएसपी भट्टले बताए। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको प्रहरीले जनाएको छ। सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन्।  

यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता भएका छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको डिएसपी भट्टले बताए।

अविरल बर्षापछि आएको बाढीपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धेरै क्षति पुर्‍याएको छ। निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रम रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ।  

दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्धविच्छेद भएको छ। यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।

यस्तै महाकाली नगरपालिका–१ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ।

प्रकाशित: १४ भाद्र २०७८ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App