८ कार्तिक २०७८ सोमबार
समाज

बेपत्ता दिवस: २१ वर्षपछि मृत्युको न्यायिक घोषणा

२०५७ फागुन १० गते बेपत्ता बनाइएका बिर्खलाल कुँवरको परिवारले २१ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा पाएको छ। रोल्पा नगरपालिका–१ बासिनाका बिर्खलाललाई तत्कालीन विद्रोही पक्षले ४३ वर्षको उमेरमा घरबाटै बेपत्ता बनाएको थियो। साना ५ छोराछोरीलाई पत्नी बिरमाले कष्टपूर्वक हुर्काइन्। बिर्खलाल बेपत्ता भएपछि त्यो परिवारमा परेको पीडाका बारेमा कहीं कतैबाट सोधखोज भएन, सहयोगको त कुरै छाडौं। जानीनजानी द्वन्द्वबाट प्रत्यक्ष प्रताडित र उनीहरूका परिवारले भोग्नेगरेको मानसिक पीडा झनै ठूलो छ। मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने गरिएका कारण पीडित जहिल्यै पीडामै रहन बाध्य हुन्छन्।

रोल्पा नगरपालिका–६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा पनि तत्कालीन १० वर्षे माओवादी युद्धबाट पीडित हुन्। २०५८ चैत १५ गते उनका पतिलाई माओवादीले घरबाट लगेर छेउको गाउँमा गोली हानी मारेका थिए। पीडा यतिमै रोकिन्न। २०५९ सालमा दाङमा पढ्ने भाइलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हीराबहादुर बुढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो। मृतकलाई मात्र राहत दिने सरकारको निर्णयपछि उनले उति बेलै बेपत्ता छोराको मृत्यु दर्ता गराइन्।

पतिलाई माओवादीले गाउँमै मारे। पतिको हत्याको घाउमा खाटा नबस्दै सेनाले छोरो बेपत्ता बनाएपछि मेघमाली विक्षिप्तजस्तै भइन्। ‘छोरा आउला भन्ने आश छैन। सुरुसुरुमा आश लाग्थ्यो, अब त मरिसक्यो’, उनले बेथा सुनाइन्, ‘पतिलाई कांग्रेस, सिआइडी भनेर मारे। बिचरा, ग्वाला–गोठालो जान्थे, घरगाउँ गर्थे। के बिगारेका थिए र माओवादीले मारे ? त्यस्ता सोझाले पनि सिआइडी गर्छन् ? मरेको लासवरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ त्यसो गर्नेहरू कोको हुन्, थाहा छ मेघमालीलाई। तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन्। ‘उनीहरूले जस्तो गर्न त भएन नि’, उनले भनिन्।

माओवादी देख्दा नि मेघमालीको मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ। एउटाले श्रीमान् मारे, अर्काले छोरा बेपत्ता बनाए। छोराको लास भए पनि, सास भए पनि हेर्ने धोको अझै मनको कतै कुनामा राखेकी मेघमाली बर्बराउँदै गर्दा आखा टिलपिल टिलपिल पार्छिन्।

पति ढाटे थापालाई बेपत्ता पारिँदा रोल्पा नगरपालिका–१ हरिगातिनाकी प्रतिमा थापा गर्भवती थिइन्। बाबुको अनुहारसमेत नदेखेका छोरा अहिले जवान भएका छन्। अरुको बुबा देख्दा रहर गर्ने छोराको रहर पूरा गर्न श्रीमान् फर्किन्छन् कि जस्तो लाग्छ अझै पनि प्रतिमालाई। बूढी सासू र छोराको मुख हेरेर जसोतसो जीवन जिउँदै छिन् प्रतिमा। २०/२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिँडेका पति होलेरीबाट बेपत्ता बनाइएपछि आसैआसमा जिउँदै गरेकी प्रतिमाभित्रको पीडा अहिले झन् बढ्दैछ। ‘अर्को बिहे गरौं भने छोरो अनि घरमा बूढी सासू। उनीहरूकै मुख हेरेर बसें। दुःख त कति भोगें कति।’ श्रीमान्को लासको अत्तोपत्तो नभए पनि उनले मृत्यु दर्ता गराएर राखेकी छन्।  

कोर्चावाङकी दिलकुमारी गुरुङ पति बिरामी भएपछि २०६० सालमा औषधि उपचारका लागि काठमाडौं पुगिन्।  

हातखुट्टा दुख्ने बेथाले भेटेका पतिलाई भर्ना गरिएकै अस्पतालको बेडबाट सेनाले लगेपछि न सासरहेको थाहा भयो न लास नै दियो। ‘घररोल्पा भन्दा बित्तिकै सेनाले लग्थ्यो। बालाजु ब्यारेकमा लगेका हुन् भन्थे। धेरै पटक ब्यारेक गएँ। भेट्न दिएन। हार मानेर फर्किएँ।’ पति दलबहादुर गुरुङलाई बेपत्ता बनाइएपछि अहिले उनी दुःखैदुःखबीच २ छोरी हुर्काउँदै छिन्।

‘खान पुग्ने सम्पत्ति पनि छैन। हे भगवान् ! जीवन कसरी चलाइया छ, बखान गर्नै सक्दिनँ’, उनले दुःख बिसाइन्, ‘थोरै जमिन छ, दाइभाइ, छिमेकीले जोतिदिन्छन्।’ एकहल गोरु, २–३ वटा कुखुरा, २–३ वटा वाख्राले आफ्नो अनि २ छोरीको जीवन चलाउँदै छिन् दिलकुमारी। ‘छोरीका अगाडि बाबाको फोटो देखाउनै हुँदैन। रुन थाल्छन्’, उनले भनिन्। माओवादीले लगाएको गुन भनेकोराहत लिन जाँदा कागजपत्र मिलाइदिएको बाहेक अरू केही गरेको अनुभव छैन दिलकुमारीसँग।

शान्ति प्रकृया सुरु भएताका मृतकलाई मात्रराहत दिने सरकारको निर्णय आएपछिरोल्पाका धेरैजसो बेपत्ता नागरिकका परिवारले सास/लास अज्ञात हुँदाहँुदै पनि बेपत्ताको मृत्यु दर्ता गराएका थिए। बेपता पारिएका व्यक्तिको छानबिन आयोगमा जिल्लाका ९८ बेपत्ता नागरिकबारे उजुरी परे पनि सरकारी तथ्यांकमा ३३ जनाको मात्रै सूची छ। गणतन्त्रसँगै देशमा आएको भनिएको जनताको व्यवस्थार तीन तहका सरकारले द्वन्द्वपीडितका पक्षमा न कुनै कार्यक्रम ल्याए न त उनीहरूको जीविकाका सवालमा सम्बोधन नै गरे।

प्रकाशित: १४ भाद्र २०७८ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App