coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राैतहटमा लागुऔषध प्रकरणः अनुसन्धान प्रक्रिया पूरा गरी छानबिन टोली फर्कियो

रौतहट प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिन गर्न आएको उच्चस्तरीय टोली अनुसन्धान प्रक्रिया पूरा गरी काठमाडौं फर्किएको छ।  

गत साउन ३२ गते रौतहट प्रहरीले योजनाबद्ध तरिकाबाट सदरमुकाम गौरको एक होटलमा खाजा खाएर घर फर्किने क्रममा स्थानीय पत्रकार मोहमम्द मजिबुल्लाको मोटरसाइकलमा १०५ थान नाइट्रोभेट लागुऔषध राखेर प्रहरीले नियन्त्रणमा लिएको थियो।  

प्रहरीले नै लागुऔषध राखेर पत्रकारलाई फसाएको सिसिटिभीको भिडियो नेपाल पत्रकार महासंघ रौतहट शाखाले सार्वजनिक गरेपछि नेपाल प्रहरीमाथि ठूलो दाग लाग्यो। साउथ एसियामा अनुसन्धानको सवालमा अब्बल मानिएको नेपाल प्रहरीमाथि यस्तो आरोप लागेपछि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले एसएसपी कृष्ण महतको नेतृत्वमा उजुरी छानबिन, सिआईवी, कानुन शाखासहित चार सदस्यीय उच्चस्तरीय छानबिन टोली गठन गरेकाे थियाे। मंगलबार गठन भएको उक्त छानबिन समितिले बुधबारदेखि नै रौतहटको सदरमुकाम गौरमा आई अनुसन्धान कार्य सुरु गरेर आइतबार काठमाडौं फर्किएको श्रोतले जनाएको छ।  

छानबिन टोलीले गौर नगरपालिका १ को घटनास्थल, ग्रिण सिग्नल होटलको संचालक, मोटरसाइकल वर्कसप, हिरासतमा रहेका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह, लागुऔषध राख्न सघाउने धिरज यादव र जितेश यादव, पीडित पत्रकार मजिबुल्लाहसहित उक्त कार्यमा संलग्न आशंकित विभिन्न व्यक्तिहरुसंग सोधपुछ गरेर फर्केका छन्।  

प्रहरीसँग योजना बनाएर लागुऔषध राख्न लगाएका मुख्य योजनाकार रहेका नेपाल पत्रकार महासंघ रौतहट शाखाको निलम्बित सहसचिव संजय सहनी अहिले फरार छन्। उनले आफ्नो फेसबुक वालमा प्रहरी नै दोषी रहेको सामाजिक संजालमा खुलेआम लेखेर चुनौती दिइरहेका छन्। तर पनि फरार सहनीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 'घटनाको योजनाकार सहनीले पटक-पटक प्रहरीमाथि नै दोष थुपारेर सामाजिक सञ्जालमा अभिव्यत्ति दिएपनि र सहनीलाई हलसम्म प्रहरीले नियन्त्रणमा लिन नसक्नु कतै प्रहरी अनुसन्धान नै कमजोर त होइन?], भन्ने प्रश्न उब्जिन थालेको जिल्लाका स्थानीय वरिष्ठ संचारकर्मी प्रभातकुमार झा भन्छन्।  

लागुऔषधका योजनाकार सहनी नै रहेको प्रहरीले पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्यो तर उनलाई हालसम्म नियन्त्रणमा नलिनु र सहनीले पटक पटक चुनौतीपूर्ण अभिव्यत्ति दिनुले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उब्जेको पत्रकार झाको तर्क छ।  

यता, प्रहरीले छानबिन समितिको सम्पर्कमा नआएको तथा हाल फरार रहेको बताइएको छ। छानबिन समितिले तत्कालीन प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहसंग काठमाडौंमै सोधपुछ गरिसकेको छ। छानबिन समितिले सबै प्रतिवेदन तयार पारेर प्रहरी महानिरीक्षक समक्ष चाँडै पेश गरिने श्रोतले दाबी गरेको छ।  

नेपाल पत्रकार महासंघ रौतहटले उक्त सिसिटिभी फुटेज भदौं ६ गते सार्वजनिक गर्दै प्रहरीको काम कारबाही प्रति लक्षित गर्दै समाचार सम्प्रेशन गरेर मजिबुल्लाहलाई छुटाउने दवाव पनि दिइयो। अन्ततः ७ गते उनलाई छोडेपछि संजय सहनी र प्रहरी उपरीक्षक शाहबीच कुरा भएको अडियो रेकर्ड बाहिरिँदा प्रहरी प्रधान कार्यालयबाट आन्तरिक छानबिन समिति गठन गरी 'दूधको दूध पानीको पानी' छुट्याउने कार्य सुरु भएको प्रदेश २ प्रमुख मुख्यालय जनकपुरधाम श्रोतले बताएको छ।

घटनको विषयमा नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले समेत छानबिन गरेका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा मिसन टोलीले घटना प्रकरणमा विस्तृत अध्ययन तथा अनुसन्धान गरी काठमाडाैं फर्किसकेका छन्। 

मिसन टोलीमा उपाध्यक्षसंगै महासचिव रोशन पुरी, सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु शिवबहादुर पुरी, इकवाल अहमद, अमर खड्का र भिषण राईसहितको टोली फर्किएपछि महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल नेतृतको टोली शनिबार रौतहट आएर घटनालाई गम्भिरताका साथ लिँदै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। महासंघका अध्यक्ष पोखरेलले पीडित पत्रकार मोहमम्द मजिबुल्लाहसँग भेटघाट गरेका छन्।

प्रकाशित: १३ भाद्र २०७८ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App