८ वैशाख २०८१ शनिबार
समाज

बाढीको डरले अनिदो बस्छन् स्थानीय

कर्णाली नदीको कटान भैरहेको क्षेत्र । स्थानीयले निर्माण गरेको जैविक तटबन्ध । तस्बिर : योगेश रावल

टीकापुर नगरपालिकाको दक्षिणी भेगका जनता साता दिनदेखी राम्ररी सुत्न पाएका छैनन्। उनीहरु कुनै पनि बेला कर्णाली नदी गाउँ पस्ने त्रासले राम्ररी सुत्न नपाएका हुन्।

टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ। सो ठाउँबाट कर्णाली नदी गाउँ पस्ने सम्भावना रहेको छ। नदीले शाहीपुरमा रहेको तटबन्ध भत्काए दक्षिणी भेगका दर्जन बढी गाउँका बासिन्दा प्रभावित हुने देखिन्छ।  

टीकापुर नगरपालिका–८ वनगाउँका बडघर रामप्रसाद चौधरीले कुनै पनि बेला बाढी आउने डरले रातभर निदाउन नसकेको बताए। उनले रातीको समयमा गाउँमा त्रास फैलिने गरेको सुनाए । ‘हामी कोही राम्ररी सुतेका छैनौं’ उनले भने–‘कोही गाउँलेलाई सूचना दिन सुत्दैनौं त कोही बाढीको त्रासले सुत्दैनन्।’

यस ठाउँमा २०४० सालमा हालसम्मकै ठूलो बाढी आएको थियो। त्यतिबेला कर्णाली नदीले ठूलो धनजनको क्षति गरेकाे थियो। सर्वसाधारणको कैयौं विघा खेतीयोग्य जमिन कटान गरेको थियो। अहिले पनि कर्णाली नदी सर्वसाधारणको खेतीयोग्य जमिनमा बग्ने गरेको छ।  

२०४० सालको बाढीको प्रकोप भोगेकाले सर्वसाधारण कर्णाली नदी कटानसँग निकै डराउने गरेका छन्। उनीहरुले त्यसपछिका वर्षहरुमा समेत थुप्रै ठूलासाना बाढीका प्रकोप भोगेका छन्। केही वर्षअघि मात्रै पनि टीकापुर नगरपालिका–७ स्थित सत्तीबजार चुर्लुम्म डुबेको थियो। सो वर्ष समेत कर्णाली नदी दौलतपुर नजिकैको तटबन्ध भत्काएर गाउँ पसेको थियो।  

स्थानीय बिदूर कायस्थले यो वर्ष समेत त्यस्तै अवस्था आउने डरले रातभर अनिदो बस्ने गरेको बताए। ‘कतिबेला घर छोडेर भाग्नुपर्ने हो भनेर रातभर सुत्नै सक्दैनौं’, उनले भने, ‘राम्रोसँग नसुतेको कत्ति दिन भैसक्यो।’

सत्तीका ब्यापारीहरुले पसलको सामान सुरक्षित स्थानमा सारेका छन्। ब्यापारीहरुले मात्रै नभई अन्य स्थानीयले समेत आवश्यक सरसामान अन्यत्र सारेका छन्। उनीहरुले अग्लो स्थानमा रहेका आफन्तको घरमा सामान सारेका छन्।

स्थानीय जीतु कटेजका सञ्चालक जीतबहादुर चौधरीले त्रासमै रात बित्ने गरेको बताए। उनको कटेज कर्णाली नदीको छेउमै छ। उनको कटेजको छेउ हुँदै कर्णाली नदीको भँगालो (नाला) बग्छ। शाहीपुरमा नदीले कटान गरे सोही नाला हुँदै बाढी पस्ने डर रहेको छ। ‘शाहीपुरमा तटबन्ध भत्कियो भने जोगिने कुनै उपाय छैन’, उनले भने, ‘रातभर बाढीकै त्रासमा बित्छ।’

कर्णाली नदीले शाहीपुरमा तटबन्ध भत्काउन थालेपछि टीकापुर नगरपालिका अन्तर्गत वडा नं. ५, ६, ७, ८ र ९ का दर्जन बढी गाउँका बासिन्दा बाढीको उच्च जोखिममा छन्।

शाहीपुरमा भैरहेको कटान रोक्नका लागि रानी जमरा कुलरीया सिँचाइ आयोजना र स्थानीयले पहल गरिरहेका छन्। आयोजनाले नदी कटान रोक्नका लागि कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राख्दै आएको छ भने स्थानीयले बालुवा भरिएका प्लाष्टिकका बोरा र झारपातको जैविक तटबन्ध निर्माण गरिरहेका छन्।

प्रकाशित: १३ भाद्र २०७८ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App