४ वैशाख २०८१ मंगलबार
समाज

बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्न युवा संघ र अनेरास्ववियूको माग

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ घण्टाभित्र बर्खास्त गर्न माग गरेको छ। अनेरास्ववियूले बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त नगरिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

‘बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गरी अनुसन्धानमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग माग गर्दछौं,’ अनेरास्ववियूका अध्यक्ष धुपेन्द्रबहादुर शाही र युवा संघका अध्यक्ष कमल खड्का ‘जुनी’ले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदी तोकिएको समयभित्र बर्खास्त नगरेमा चरणवद्ध आन्दोलनसहित सडकमा उत्रिन बाध्य हुनेछौं।’

विज्ञप्तिमा मन्त्रीमाथि बलात्कारको संगीन आरोप लाग्दासमेत सत्यतथ्य छानविन तथा अनुसन्धानका लागि आरोपितलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा उल्टै समाचार लेख्ने पत्रकारलाई ज्यानमार्ने धम्की दिइनु र सरकारमा सहभागी दलहरु मौन बस्नु निन्दनीय र खेदजनक भएको बताएको छ। ‘मन्त्रीनै बलात्कारजस्तो गम्भीर अपराधमा संलग्न हुनु आम नागरिकका लागि दुःखको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरेर छानविन तथा अनुसन्धानमा सघाउन प्रदेश सरकारसँग जोडदार माग गर्दछौं।’  

कालिकोटका जनताले आफूहरुका साझा समस्याहरु समाधानका लागि, जनपक्षीय कामका लागि अमूल्य मत दिएर पठाएका मन्त्रीनै जघन्य अपराधमा संलग्न हुनुलाई गम्भीर रुपमा लिनुपर्ने उल्लेख छ। बलात्कारको तथ्य प्रमाणसहित समाचार सार्वजनिक हुँदा पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीलाई मुख्यमन्त्री शाहीले संरक्षण गरेको आरोप लगाइएको छ। 

‘समाजमा भएका अपराधिक घटनाहरुलाई निर्मूल गरी सभ्य समाज निर्माणमा प्रदेश सरकार लाग्नुपर्नेमा उल्टै अपराधीको संरक्षणको केन्द्र र संरक्षक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री हुने कुराले आम कर्णाली प्रदेशवासी लज्जीत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधका आरोपी व्यक्तिहरुलाई कुनै पनि सार्वजनिक पदमा बस्न सुहाउँदैन्।’

प्रकाशित: ११ भाद्र २०७८ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App