खोटाङमा अवैध रुपमा उत्खनन् गरिएको बालुवा ओसारपसार गरिरहेका ६ वटा ट्याक्टर र १ वटा जेसीबी (स्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय हलेसीले स १ त ७८१५ नम्बर, ना ७ त ३३२९ नम्बर र ना ६ त ७०८७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। भदौ ८ गते नियन्त्रणमा लिइएको ट्याक्टर कारबाहीका लागि हलेसी तुवाचुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए। यस्तै, प्रहरीचौकी बुईपाले भदौ ८ गते नियन्त्रणमा लिएको को २ त ७७५६ नम्बरको ट्याक्टर पनि आवश्यक कारबाहीका लागि हलेसी तुवाचुङ नगरपालिका पठाइएको छ।
प्रहरीका अनुसार लामीडाँडा बिमानस्थल सुरक्षागार्डले भदौ ९ गते ना ५ त ६६०० नम्बर र प्र २–०३–०११ त ३२९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ। लामीडाँडा बिमानस्थल सुरक्षागार्डले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि रावाबेँसी गाउँपालिकालाई बुझाइएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालयले भदौ ९ गते नियन्त्रणमा लिएको जेसिभि (स्काभेटर)लाई कारबाहीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ।
हाल खोटाङको दुधकोसी, सुनकोसी, रावा खोला, साप्सु खोलाका विभिन्न ठाउँबाट आईई नगरी अवैध रुपमा गिटी बालुवा निकासी भइरहेको छ। कतिपय ठाउँमा ढुंगा, गिटी र बालुवा निकासीकै लागि जथाभावी सडक निर्माण गरिएका छन्।
नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायतका पदार्थ चोरी निकासी भइरहेको र मनपरीढंगले उत्खनन गर्दा वाताबरणीय असर पुगेको पाइएकाले आइईई गरेर मात्र निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउनका लागि जिल्ला समन्वय समितिले २०७५ साल पुस २३ गते सबै स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको थियो। आइईई नगरी मनपरी ढंगले निर्माण सामग्री झिक्दा पर्यवरणमा असर पुगेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।
प्रकाशित: ११ भाद्र २०७८ ०४:२२ शुक्रबार