८ वैशाख २०८१ शनिबार
समाज

अस्ताए जनगायक जेबी टुहुरे

‘आमा, दिदी–बहिनी हो, कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर...।’ जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) अब अनेकखाले शोषणबाट महिला मुक्तिका निम्ति यो जोसिलो गीत गाउन हामीबीच आउने छैनन्। उनले बिहीबार अन्तिम सास लिए। टुहुरेको ७८ वर्षको उमेरमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। भदौ १ मा कलंकीस्थित निवासमा लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो। चिकित्सकहरूले दिएको जानकारीअनुसार मस्तिष्काघातबाट उनको निधन भएको हो। उनी २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए।  

बाबु कृष्णबहादुर र आमा दानदेवी खड्गीका जेठा छोरा टुहुरेले पञ्चायती व्यवस्थाका कठिन दिनमा पनि न्याय र समानताको पक्षमा गीत गाइरहे। उनले आफ्ना गीतमार्फत तत्कालीन भूमिगत कम्युनिस्ट राजनीतिलाई जनतामाझ पुर्‍याएका थिए। उनी सांस्कृतिक कार्यक्रममार्फत कम्युनिस्ट पार्टी निर्माणका लागि सक्रिय भएर लागेका थिए। २०२१ सालमा बाबुको निधनपछि उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ उपनाम थपेका थिए।

टुहुरेले असोज ९ मा जन्मस्थल धरानमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन अभ्यास गरिरहेका थिए। उनको ‘आमा, दिदी–बहिनी हो...’ बोलको गीत धरानको पृष्ठभूमिमा जोडिएको छ। कपडा व्यापार सिलसिलामा बाबुसँगै उनको परिवार धरानबाट लेटाङ हुँदै मधुमल्ला बसाइँ सरेको थियो। बाबुसँगै व्यापारमा हिँड्नु पर्दा उनको औपचारिक शिक्षा अघि बढ्न सकेन। बाबुको निधनपछि उनी मधुमल्लाबाट विराटनगर हुँदै २०४७ सालमा काठमाडौं आएका थिए।  

उनले २०१९ सालमा रेडियो नेपालमा ‘हा, हा काली...’ बोलको गीत स्वरांकन गराएका थिए। उनको पहिलो एकल प्रस्तुति २०२७ सालमा त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा भएको थियो। उनी भूमिगत रूपमा प्रगतिशील गीत गाउँदै हिँड्थे। २०२४ सालमा पारिजात, रामेश, रायन र अरिमलगायतले राल्फा आन्दोलन सुरूवात गरिसकेका थिए।  

२०२६ सालतिर ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ...’ बोलको गीत गाएपछि टुहुरे चर्चाको शिखरमा पुगे। ‘गीत संगीतमार्फत उहाँ देश र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुभएको थियो,’ गायक रामेशले टुहुरेलाई सम्झँदै भने, ‘त्यसैले गर्दा जेलसमेत पर्नुभएको थियो। पहिलोपटक सांगीतिक कार्यक्रमको सिलसिलामा धरानमा उहाँसँग भेट भएको थियो। जनपक्षीय क्रान्तिका गीत गाउने भएकाले निकट भएर सहकार्य गरेका थियौं।’ रामेशका अनुसार टुहुरेका अजम्बरी गीतहरूले आउने दिनमा पनि समाजमा उत्तिकै प्रभाव पारिरहने छन्।

राल्फाबाट छुटेर रामेश मालेतिर लागे भने टुहुरे पूर्वकोसी प्रान्तीय कमिटी हुँदै नेकपा मालेमा लागेका थिए। रायनले नेकपा (चौथो महाधिवेशन) तिर लागेर वेदना सांस्कृतिक परिवारमार्फत गीत गाउन थाले। पछि टुहुरे र रामेशले शम्भु राई र रामकृष्ण दुवाललगायतसँग मिलेर संकल्प गीतियात्रा गरेका थिए।

यात्राको क्रममा पुस्तकमा छापिएको कवितालाई पूर्ण लेखन गरेर नारीलाई उत्साहित गर्न ‘आमा, दिदी–बहिनी हो...’ गीत तयार भएको थियो। ‘गीतियात्राले जनवादी र प्रगतिशील गीतहरूलाई लोकप्रिय बनाउँदै थियो। तर, हामी स्वतन्त्र भएर गीत गाउन थाल्यौं’, रामेशले भने, ‘स्वतन्त्र भएर जनताको हितमा गाउँदा राम्रो नतिजा आउँछ भन्ने गर्नुहुन्थ्यो टुहुरे पनि। पार्टी र नेताको खराब प्रभावले गीतलाई प्रत्यक्ष असर गर्नेरहेछ भनेर उहाँ चिन्तितसमेत हुनुहुन्थ्यो।’

२०३४ सालमा धरानमा भएको गीतियात्रा कार्यक्रममा टुहुरेले पहिलोपटक ‘आमा, दिदी–बहिनी हो’ गीत गाएका थिए। यो गीत उनले ‘चरी भरर’ पुस्तकमा भेटेका थिए। गुल्मीका एकदेव ज्ञवालीले यो गीत लेखेका थिए। तर, यो गीतले महिलालाई होच्याएको तर्क रामेशले गरेका थिए। ‘हामी सँगै बसेर गीतका शब्द पुनर्लेखन गर्‍यौं। पहिलो लाइन मैले पुनर्लेखन गरें भने पछाडिका लाइन वम देवानले थप्नुभएको थियो।’

२०३६ देखि ०४६ सालसम्म टुहुरेले विराटनगरको ट्राफिक चोकमा ‘शान्ति शीतलु’ नामको लज चलाएका थिए। २०४४ सालमा स्थापित जनसांस्कृतिक मञ्चको संस्थापक सदस्य भएपछि उनलाई तत्कालीन एमालेले बोलाएको थियो। पछि उनी जनसांस्कृतिक मञ्चको अध्यक्ष भए। उनी प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत भएका थिए।

राजनीतिकरूपमा पनि उनी सचेत थिए। उनी माले, एमाले हुँदै २०६६ सालमा माओवादीमा प्रवेश गरेका थिए। माओवादीले उनलाई समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनाएको थियो। २०७५ सालमा स्थापित ‘जेबी टुहुरे फाउन्डेसन’ अध्यक्ष निर्भिका टुहुरेका अनुसार फाउन्डेसनले उनको आत्मकथा प्रकाशनका लागि तयारी गरिरहेको छ। निर्भिका टुहुरेकी कान्छी छोरी हुन्।

पाँच दशक प्रगतिशील सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका उनले ‘आमा, दिदी–बहिनी हो...’, ‘बसाइँ हिँड्नेको ताँतीले...’, ‘आँधी खोलैले...’, ‘चौरी चर्ने ठाउँमा...’, ‘छोराहरू हो...’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ...’, ‘किसानको मुटु...’ ‘पसिना झार्दै...’ लगायत करिब डेढ सय गीतमा स्वर दिएका छन्। उनका पत्नी, एक छोरा र चार छोरी छन्।  

प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक टुहुरेको निधनप्रति दुःख व्यक्त गरेका छन्। देउवाले ट्विटमार्फत् भनेका छन्, ‘कलाकार जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनको खबरले निकै स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रकाशित: ११ भाद्र २०७८ ००:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App