coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नदी कटान नियन्त्रणमा समस्या

नदी कटान क्षेत्र। तस्बिर: नागरिक

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।

आयोजनाले नदी कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राखेर रोकथामको प्रयास गरिरहेको छ। आयोजनाका सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले रोकथामको काममा दुईवटा निर्माण कम्पनी संलग्न रहेको जानकारी दिए। उनले सो काम गजुरमुखी सिद्धी साई र प्राकृतिक सनिदेवले गरिरहेको बताए।

आयोजनाले निर्माण कम्पनी मार्फत नदी कटान रोकथामको काम गरिरहेको भएपनि समयमा ढुंगा ढुवानी हुन नसक्दा र नदीमा राखेको ढुंगा बाढीले बगाउँदा समस्या भैरहेको छ। ‘बाटो लगायतका कारण छिटोछिटो ढुंगा ढुवानी हुन सकिरहेको छैन। जसका कारण रोकथामको काम प्रभावकारी हुन सकेको छैन’ सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले भने–‘हामी प्रयासरत छौं। तर ढुक्क हुने अवस्था भने छैन।’

उनले स्थानीय पालिकाहरुले ढुंगा संकलन कार्यलाई असहज बनाएपछि आयोजनाले थालेको नदी नियन्त्रणको काम प्रभावित बनेको गुनासो गरे। उनले यस्तो विपदका बेला समेत केही पालिकाले ढुंगा संकलन र ढुवानीमा समस्या खडा गरेको बताए। ‘यस्तो विपदको बेला सबैले सहयोग गर्नुपर्छ’ उनले भने–‘उल्टै सहयोग गर्नुको साँटो असहयोग गर्ने काम भैरहेको छ।’

स्थानीयले डेढ साता अघि सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा नदी कटान रोकथामका लागि निर्माण गरेको जैविक तटबन्ध नदीले बगाईदिएको छ। नदी जैविक तटबन्ध निर्माण गरेको ठाउँ भन्दा धेरै वर पुगेको बडघर चन्द्रबहादुर रोकामगरले जानकारी दिए।  

‘हामीले बनाएको तटबन्धको त कुनै संकेत पनि छैन’ उनले भने–‘अहिले ठूल्ठूला ढुंगा राखेपछि केही हदसम्म रोकथाम भएको छ।’ उनले ढुंगाले पनि नदी कटान रोक्न नसके परिणाम अकल्पनीय हुने बताए। सो ठाउँबाट नदी गाउँ पसे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ का सत्ती, वडा नं. ८ का सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका ठाउँ जोखिममा पर्ने सम्भावना रहेको छ।

प्रकाशित: १० भाद्र २०७८ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App