७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। एमालेले घटना विवरणसहित बहालवाला मन्त्रीका बारेमा सार्वजनिक भइसक्दा पनि सरकार र सत्ता पक्ष चुप लागेर बस्नु गम्भीर भएको बताएको छ। 

‘कर्णालीमा माओवादी केन्द्र र कांग्रेसको संयुक्त सरकार छ, कर्णालीका माओवादीहरु र कांग्रेसहरुलाई के विषयले छुन्छ बुझ्न सकिएन्,’ एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले भने, ‘सार्वजनिक रुपमा गम्भीर आरोप लागिसक्दा तत्काल वर्खास्त गर्नुपर्नेमा न सरकार बोल्छ, न पार्टी बोल्छ, न पार्टीमा लागेका बोल्छन्।’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कँडेलले मन्त्रीको सचिवालयका कर्मचारीलेनै घटना स्वीकार गरिसकेको र लेनदेनको विषय नमिल्दा घटना बाहिर आएको स्वीकार गरिसक्दा पनि आरोपीतलाई मन्त्री बनाइराख्नु समग्र कर्णालीकै बेइज्जत भएको बताए। ‘अरुले बोले विरोधीले बोलेको अर्थ लगाइन्छ, यो घटनामा त मन्त्रीको सचिवालयका कर्मचारीलेनै घटना भएको र लेनदेन नमिलेर बाहिर आएको स्वीकार गरिसक्दा पनि मन्त्रीबाट नहटाइनु समग्र कर्णालीकै अपमान हो।’

कँडेलले पीडित पक्ष कुटिनु र समाचार लेख्ने पत्रकारहरुको भागाभाग हुने अवस्थाको सृजना भइसक्दा पनि सरकार र प्रशासनले गम्भीर चासो नलिएको बताए। ‘पीडित पक्ष यहीँ घटनाले कुटिन्छ, प्रहरी आफै हामीले उद्धार गर्‍यौं भन्छ, मन्त्रीसँग जोडिएका व्यक्तिहरुले भौतिक कारबाही गर्ने गरी सामाजिक सञ्जालमा आफ्ना धारणा राख्छन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाचार लेख्ने पत्रकारको भागाभागको अवस्था हुँदा पनि यहाँ प्रशासन छ, तर व्यवहारमा नभएको अवस्था देखिन्छ।’

एमाले नेता कँडेलले घटनाका बारेमा प्रहरी–प्रशासन सम्पूर्ण जानकार रहेको बताउँदै बजारमा आएका घटना विवरणलाई नपत्याउने हो भने जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई बुझ्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन्। उनले सरकार र सत्ता साझेदार दल माओवादी केन्द्र र कांग्रेसले आवश्यक कदम नचाले अन्यथा हुने चेतावनी पनि दिएका छन्। ‘मुख्यमन्त्रीज्यू अझै केही भएको छैन् भन्ने छ भने जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सोध्नुहोस्, सबै थाहा पाइन्छ,’ उनले लेखेका छन्, ‘कर्णाली प्रदेशको सम्मानका लागि आवश्यक कदम चाल्नुहोस्, अन्यथा ...।’

प्रकाशित: ९ भाद्र २०७८ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App