coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलानाला अतिक्रमणले सँधै डुब्छ धनगढी

बुधवार बिहान परेको बर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए । यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके । खोला नाला पुरै अतिक्रमण गरिएकोले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी वर्षा हुने बित्तिकै डुवानमा पर्ने गरेको छ। 

जताततै  डुबान, हिल्लाम्मे, खाल्डा परेका र पानी भरिएका सडकले सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाका वासिन्दाले सास्ती खेप्नु परेको छ। ‘वर्षातले वरपर र बाटो पुरै डुबानमा परेर घर बाहिर काममा जान पनि नसिकने भएको छ’स्थानिय भरत खड्काले भने,‘कहिले डुबान नहट्ने भयो, साह्रै समस्या भएर वर्षायाम कहिले सकिएला जस्तो भएको छ ।’

डेढ दशकअघिसम्म जति ठूलो वर्षा भएपनि धनगढी डुवानमा पर्दैनथ्यो । उत्तरवाट दक्षिणतर्फ बग्ने खोला नाला फराकिला थिए। खोला नाला अतिक्रमण गरेर साँघुरिएका र पुरिएका कारण अहिले वर्षेनी समान्य वर्षातमा पनि धनगढी  डुवानमा पर्ने गरेको हो । यहाँ खोला नाला अतिक्रमण गरेर घर र संरचना बनाइएका छन् । केहीवर्षअघि सम्म फराकिला देखिएका नालाहरु अहिले साँघुरा बनेका छन भने केही ठाउँमा नालाको नामनिशाना समेत बाँकी छैन । ‘केही वर्षअघि सम्म खोला नाला रहेका केही ठाउँमा अहिले खोला नाला नै वाँकी छैनन् ’स्थानिय हरी रेग्मी भन्छन,‘खोला नालामा भएको अतिक्रमणले वर्षातमा डुबानमा परेर नगरवासीले धेरै दुःख भोग्नु परेको छ।’  

नगर विकास समिति, नगरपालिकाका कर्मचारीको संलग्नतामा केही व्यक्तिले खोला नालाको जमिन अतिक्रमण गरेर नाममा हालेका छन्। वर्षा हुने बित्तिकै धनगढीका मुख्य बजार सँगै अधिकाशं वस्ती डुबानमा पर्ने गरेका छन । धनगढीमा डुवानले घरवाट बाहिर, मुख्य बजारमा समेत ओहोरदोहोर गर्न समस्या हुने गरेको स्थानीय बताउँछन्। ‘पानीबग्ने खोलानाला अतिक्रमण गरेकाले समान्य वर्षा हुने बित्तिकै पटक पटक धनगढी नगर डुवानमा पर्ने गरेको छ’ स्थानिय व्यवसायी राजिव गुप्ताले भने, ‘डुवानका कारण हामीलाई बर्षातका महिना धेरै समस्या भएको छ।’  

नगर विकास समितिले विगतमा हचुवाका भरमा खोला नालाको जमिन समेत व्यक्तिका नाममा दर्ता गरेको स्थानिय बताउँछन्। ‘नगरविकास समितीले बिगतमा ऐलानी जमिन समेत व्यक्तिकाे नाममा दर्ता गरेकोले अहिले नगरवासिले यो समस्यो भोग्नु परेको छ ’स्थानिय रेग्मी बताउँछन्। पानी निकासको बाटोसमेत नरहने गरी खल्ला, ताल र खोलानालाको जमिन नगर विकासले व्यक्तिको नाममा दर्ता गरेको छ ।  नगर विकास समितिले २०४९ देखि २०७२ सालसम्म धनगढीमा ९ सय ३१ विघा ऐलानी जमिन व्यक्तिका नाममा दर्ता गरेको तथ्यांक छ । २०४९ मा मात्रै तत्कालीन नगर विकास समितिले धनगढीमा ७ सय ६७ विघा ऐलानी जमिन बाँडेको छ।  

स्थानीय तहको निर्वाचनको वेला ४ वर्षअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख पदका सबै उम्मेदवारको मुख्य ऐजेण्डा मध्यमा धनगढीको खोलानाला अतिक्रमण हटाएर डुबानमा समस्यावाट मुक्त गर्ने पनि थियो। मेयर निर्वाचित भएपछि नृपबहादुर वडले उपमहानगरको बोर्ड बैठकबाट खोलानालाको अतिक्रमण हटाउने पहिलो निर्णय समेत गरे। तर ४ वर्षसम्म खोला नालाको अतिक्रमण हटाउन कुनै पहल भने भएन। खोला नाला अतिक्रमण हटाउने ऐजेण्डा लिएर चुनाव जितेका मेयरले यसमा ध्यान नदिएको स्थानियको गुनासो छ। नगर प्रमुख वडले वर्षात लगत्तै अतिक्रमण हटाउने अभियान सुरु गर्ने बताएका छन्।

प्रकाशित: ९ भाद्र २०७८ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App